३३ किलो सुन प्रकरण : मोरङ अदालतमा अन्तिम सुनुवाइ सुरु

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, १४ : ५०
३३ किलो सुन प्रकरण : मोरङ अदालतमा अन्तिम सुनुवाइ सुरु

काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरू भएको छ ।साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको हो । जिल्ला अदालत मोरङले आज अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस सुरू भएको जनाएको छ ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाई न्यायाधीश भरत लम्सालको इजलासमा अहिले भइरहेको छ ।

उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ । मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ ।

सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको करिब ३८ क्वीन्टल सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ । सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस