नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु : देउवा

शनिबार, ०८ बैशाख २०७५, १५ : ३९
नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ओली नेतृत्वको वर्तमान सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गरेको आरोप लगाउनु भएको छ । राष्ट्रिय सभा गृहमा शनिबार आयोजित नेपाली कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो ।
नेपालमा एकदलीय शासन चलाउने अभ्यासमा सरकार लागेको आरोप लगाउँदै नेपाली काँग्रेसका सभापति देउवाले सरकारको प्रतिकारमा एकढिक्का हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । यसअघि स्वायक्त निकायका रुपमा रहेका सम्पत्ति सुद्धिकरण, गुप्तचर संयन्त्र लगायतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहत राखेको विषयप्रति लक्षित गर्दै सभापति देउवाले भन्नुभयो, सबै अधिकार आफुमा निहित गराई सरकारले अधिनायकवादी शासन सुरु गर्ने संकेत दिएको छ ।
सभापति देउवाले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम छोडेर अधिनायकवादी सरकारविरुद्ध एकजुट हुन आह्वान गर्दै आगामी निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने गरी संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस