काठमाडौं । २०७५ साल सुरु भएसँगै पूर्वराजा ज्ञानेन्द्र शाह मौन देखिएका छन् । पछिल्लो समय उनी कुनै पनि औपचारिक कार्यक्रममा देखिएका छैनन् । अहिले कहाँ र के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ?
गत वर्ष फागुन र चैतमा राप्रपाका दोस्रो तहका नेतासँग झापामा भेटवार्ता गरेर फर्किएका पूर्वराजा शाह पछिल्लो समय निर्मल निवासमै बसिरहेका छन् । निर्मल निवासमा उनको दिनचर्या दैनिक पूजापाठ, योग, अध्ययन र राजनीतिक घटनाक्रमप्रति चासो दिएर बित्ने गरेको पूर्वराजाका संवाद सचिव डा. फणि पाठकको भनाइ छ ।
पूर्वराजाले वर्तमान राजनीतिक घटनाक्रमलाई पनि नियालिरहेको तर उनको राजनीतिमा आउने कुनै योजना नरहको पाठकले बताए । पछिल्लो समय पूर्वराजाले राजावादीहरुलाई समेटेर पार्टी खोल्नमा सहयोग गरेको भन्ने हल्लाहरुमा कुनै सत्यता नरहेको उनले बताए ।
‘देश विखण्डनको बाटोमा नजाओस, राष्ट्रियता बलियो होस् र देशमा समृद्धि होस् भन्ने पूर्वराजाको जोड छ’ पाठकले भने, ‘पूर्वराजाको राजनीतिमा लाग्ने कुनै योजना छैन । राजनीतिक समर्थन पनि कसैलाई रहँदैन ।’
पूर्वराजाले तीन वटै राप्रपाका नेताहरुलाई मिलाएर बुद्धिमान तामाङको नेतृत्वमा नयाँ राप्रपा गठनको पहल गरिहरेको भन्ने समाचार आइरहेको बेला पाठकले त्यसमा कुनै सत्यता नरहेको बताए । उनले भने, ‘कुनै पनि दल विशेषलाई मिलाउने वा फुटाउने काममा पूर्वराजा लागिबक्सेको छैन । न यसको कुनै परिकल्पना नै मौसुफबाट भएको छ ।’
उनले झापामा पूर्वराजाबाट सबै राजनीतिक दलका प्रतिनिधि र लब्धप्रतिष्ठित व्यक्तित्वहरुसँग भेटेको साँचो भएपनि कुनै पार्टीलाई एकताबद्ध गराउने या फुटाउने उद्देश्य नभएको बताए ।
फागुन २० देखि चैत २५ गतेसम्म झापामा रहँदा पूर्वराजा ज्ञानेन्द्रले कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर र प्रल्हाद शाह, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती, डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्य लगायतलाई भेटेका थिए ।
पूर्वराजा भेट्नैको लागि र राप्रपाका नेताहरु झापास्थित पूर्वराजाको हिमालय चिया बगानमा पुगेका थिए । त्यसक्रममा राप्रपा पुनर्गठनका विषयमा छलफल भएको राप्रपाका एक नेताले नै बताएका थिए । तर, पूर्वराजा निकटस्थले भने कुनै राजनीतिक चाहना नभएको बरु पूर्वराजाले बलियो राष्ट्रियतामात्रै चाहेको बताउँदै आएका छन् ।
आफ्नो औपचारिक कार्यक्रमका साथै वक्तब्यहरुमा राष्ट्रियता बलियो हुनुपर्ने, आर्थिक समृद्धि हुनुपर्नेलगायतका धारणा राख्दै आएका छन् । उनले आफूले राजगद्दी छाडेपछि राजनीतिक दलहरुदले जनताको चाहनाअनुसार काम नगरेको भन्दै असन्तुष्टि समेत जनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस