प्रदेश २ का सभामुख सरोज यादवले छोडे राजेन्द्र महतोको साथ

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १६ : ३०
प्रदेश २ का सभामुख सरोज यादवले छोडे राजेन्द्र महतोको साथ

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिएका प्रदेश २ का सभामुख सरोज यादवले उनको साथ छाडेका छन् ।

जसपा विभाजनपछि महन्थ ठाकुर नेतृत्वको लोसपा गठन भएको छ । महतो निकट मानिएका प्रदेशसभा सभामुख यादव भने जसपामै रहे । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र यादवले लोसपाका पक्षमा सनाखत नगरेका कारण उनी जसपामै रहेको मानिन्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमल प्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत गर्नैपर्ने प्रस्ट पारे । नयाँ दलको पक्षमा सनाखत नगरेका प्रदेशसभा सदस्य मूल पार्टीमै रहेको मानिने उनको भनाइ छ ।

उनले महतोको साथमा लामो समय सद्भावना पार्टीमा रहेर काम गरेका थिए । सद्भावना पार्टी र अन्य दल मिलेर राजपा नेपाल बनेको थियो । राजपा नेपालबाट चुनाव जितेपछि उनी राजेन्द्र महतोको कोटामा प्रदेश २ प्रदेशसभाका सभामुख बनेका हुन् । 

प्रतिक्रिया दिनुहोस