काठमाडौं । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई सदर गरेको छ ।
पराजुलीले न्यायालयको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै मजोज अधिकारीले १५ फागुनमा रिट निवेदन दिएका थिए । सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको आदेश कानुनसम्मत नै भएको ठहर समेत इजलासले गरेको छ। उमेरहदका कारण गत साउनमै पदावधि सकिएपछि पनि पदमा बसेको भनी न्याय परिषद्को अवकाशपत्रपछि पराजुलीले चैत १ गते राजीनामा दिएका थिए ।
सर्वोच्चले पराजुली विरुद्ध अवहेलना मुद्दा चलाउनु नपर्ने निर्णय गरेपछि पराजुलीलाई राहत मिलेको छ । मुद्दा दर्ता गर्दै कारण देखाऊ आदेश जारी गरेको भए न्यायिक इतिहासमा उनी पहिलो पटक न्याय सम्पादनमा रहँदा अदालतको अवहेलना गरेको भनी बयान दिन सर्वोच्च पुग्ने व्यक्ति हुन्थे ।
अधिकारीले प्रधानन्यायाधीशको पदमै रहँदा मुद्दा प्रभावित गर्ने प्रयास गरेको भन्दै अवहेलना निवेदन पेश गरेका थिए। तर, सर्वोच्च प्रशासनले उक्त निवेदन दर्ता गर्ने प्रमाण अपुग भएको भन्दै दरपीठ गरिदिएको थियो । अधिकारीको निवेदनमा डा गोविन्द केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्मका काम गरेर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर गरिएको छ ।
सुरुमा पराजुलीको कुन कार्यले अवहेलना भयो भन्ने कार्यको पुष्टि हुने आधिकारिक प्रमाण नल्याएको भन्दै सर्वोच्चका सहरजिष्ट्रार नारायण पन्थीले उक्त निवेदन दरपीठ गरेका थिए । कीर्ते नागरिकता र फरक–फरक शैक्षिक प्रमाणपत्रका आधारमा न्यायाधीश हुँदै पराजुलीले अदालतको अवहेलना गरेको जिकिर निवेदनमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस