काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइसकेपछि हुने एकीकृत पार्टीको पहिलो अधिवेशनबाट को अध्यक्ष बन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने बताउनु भएको छ ।
‘हामी एकीकृत पार्टी बनाउँदैछौं । एकीकृत पार्टीका विभिन्न नेता जो कोही पनि अध्यक्ष बन्न सक्नुहुन्छ । अध्यक्ष बन्ने प्रक्रियाले हो । महाधिवेशनले अध्यक्ष छान्ने हो । सर्वसम्मतिले अध्यक्ष छान्ने हो, सर्वसम्मति नभए मतदान होला । तर, यो कुरा अहिले भन्न सकिन्न’ उहाँले भन्नुभयो, ‘महाधिवेशनबाट को अध्यक्ष बन्छ भन्ने कुरा अहिले केपी शर्मा ओलीले प्रचण्डलाई वा एकता संयोजन समितिलाई फलानो अध्यक्ष बन्नेछ भनेर लिखित वा मौखिक एग्रिमेन्ट गर्ने अधिकार छैन । अहिले नै अध्यक्ष तोकेर हिँड्ने अधिकार कसैलाई छैन ।’
‘महाधिवेशनबाट टुंगो लगाउने विषयमा कुनै एक व्यक्तिले फलानो अध्यक्ष हुनुहुन्छ भनेर लिखित वा मौखिक सहमति गर्न मिल्छ र ?’ उहाँले भन्नुभयो, ‘भोलि आयोजना हुने महाधिवेशनको अधिकार कुनै एउटा व्यक्तिले खोसेर लिन पाउँछ ? एमाले अध्यक्ष केपी ओलीले महाधिवशेनपछि म तपाईलाई अध्यक्ष बनाउँछु भनेर कुनै लिखित वा मौखिकरुपमा प्रचण्डलाई भन्न सक्न्नुहुन्छ ? अथवा प्रचण्डले त्यो कुरा भन्न सक्नुहुन्छ ? उहाँहरुले बढीमा म अध्यक्षमा उठ्दिनँ, महाधिवेशनमा तपाईलाई सघाउँछु भन्न सक्नुहुन्छ ।’
स्थानीय तहको चुनावमा दुई पार्टी मिलेर जाने प्रस्ताव बोकेर प्रचण्ड निवास पुग्नु भएका एमाले नेता विष्णु पौडेल एमाले अध्यक्ष केपी ओलीको दूतका रुपमा र प्रचण्डको दूतका रुपमा जनार्दन शर्माले दर्जनौंपटक एकताको छलफल चलाएका थिए । एमालेको नवौं महाधिवेशनमा ओली र बामदेवलाई मिलाउन सूत्रधारको भूमिका खेलेका पौडेल पछिल्लो समय ओली र माधव नेपाललाई मिलाउन सक्रिय भए । ओली र प्रचण्ड मिलाउने सूत्रधार पनि यिनै हुन् ।
पूर्वअर्थमन्त्री पौडेलले प्रचण्डलाई अहिले नै दुई वर्षपछिको अध्यक्ष ग्यारेन्टी गरेर पार्टी एकता नहुने बताउनु भएको छ । बैशाख नौ गते पार्टी एकता नहुनुपर्ने कुनै कारण आफूले नदेखेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘आज पनि हामी ९ गतेअघि नै छौं । यो बीचमा पनि एकताको निम्ति समय खर्च गर्ने हो भने एकीकरण सम्भव छ । म आफैं पनि अचम्मित छु । म मेरो अध्यक्ष कमरेड केपी ओलीलाई र माओवादी अध्यक्ष कमरेड प्रचण्डलाई सोध्न चाहन्छु, एकता गर्ने हो कि होइन ? एकता गर्ने सार्वजनिक प्रतिवद्धताबाट तपाईहरु पछि हटेको हो कि होइन ? यसको जवाफ उहाँहरुले दिनुपर्छ ।’
सिद्धान्तमा, विचारमा वा नीतिमा कुनै समस्या नरहेको बताउँदै उहाँले संगठनात्मक सन्दर्भमा पनि मुख्य कुरा दुवैजना अध्यक्ष रहने, पालोपालो अध्यक्ष हुने सहमति भएको बताउनु भयो । दुई अध्यक्ष समान हैसियतमा रहने, पालोपालो अध्यक्षता गर्ने भनेपछि समान हैसियत हुने बताउँदै उहाँले यसमा को कार्यकारी र को सेरेमोनियल भन्ने प्रश्न उठाउन नमिल्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस