फोरमबाट कांग्रेसमा मिसिएका नेताहरु बने दुई ढुङगा बीचको तरुल !

विहीबार, ०६ बैशाख २०७५, १७ : २०
फोरमबाट कांग्रेसमा मिसिएका नेताहरु बने दुई ढुङगा बीचको तरुल !

काठमाडाै । नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम बीच एकिकरणका बेला भएको सहमति कार्यन्वयन हुन नसक्दा फोरमका नेताहरु रुष्ट बनेका छन् । 
एकिकरणका समय पदाधिकारीसहित १५ देखि २५ जना फोरमबाट कार्यसमितिमा समाहित गर्ने, लोकतान्त्रिक फोरममा रहेका महाधिवेशन प्रतिनिधिलाई काँग्रेसमा पनि निरन्तरता दिने, सक्रिय सदस्यलाई पनि यथावत राख्ने, प्रतिनिधिसभामा १० र प्रदेशसभामा १२ जनालाई समानुपातिक उम्मेदवार बनाउने लगाएतको सहमति भएको थियो । एकीकरण भएको ६ महिना बितिसकेपनि कांग्रेसमा कुनै जिम्मेवारी पाउन नसकेको भन्दै फोरमका मूख्य पदाधिकारीहरु नै रुष्ट भएका छन् । २०७४ असोज ३० गते नेपाली काँग्रेससँग लोकतान्त्रिक फोरमबीच एकिकरण भएको थियो । एकिकरण भएको ६ महिना बढी भई सकेको भएपनि कांग्रेस भित्रकै किचलोको कारण सहमति कार्यन्वयन हुन नसकेको जानकारहरु बताउछन् ।
त्यतिबेला दुई पार्टीबीच समझदारी भएपनि  कार्यान्वयन हुन नसकेको तत्कालिन लोकतान्त्रिक फोरमका महासचिव भर्तेन्दु मल्लिकले गुनासो गरे । विजयकुमार गच्छदारले काँग्रेसबाट प्रतिनिधिसभा चुनाव जितेका छन् भने जितेन्द्र देव पनि सोही दलबाट राष्ट्रियसभा सदस्य बनेका छन् । यसबाहेक लोकतान्त्रिक फोरमका कुनै पनि नेता तथा कार्यकर्तालाई कुनै जिम्मेवारी दिइएको छैन । कुनै जिम्मेवारी नपाएपछि ती पार्टीका नेता तथा कार्यकर्ताहरु अलपत्र परेका छन् । न उनीहरु आफूलाई काँग्रेस भन्न सकिरहेका छन् न लोकतान्त्रिक फोरम । मल्लिकले भने, ‘दुईजना (गच्छदार र देव) लाई काँग्रेसमा ‘सेटल’ गर्दैमा सबै नेता ‘सेटल’ भएको वा सम्झौता कार्यान्वय भएको मानिदैन । अरु नेताको पनि राजनीतिक क्यारियर छन्, उसको पनि राजनीतिकमा लगानी छ तर न काँग्रेस पार्टी गम्भीर देखिन्छ न गच्छदारजी गम्भीर देखिनुहुन्छ, अब के गरौं जस्तो भएको छ ।’प्रतिनिधिसभामा फोरमबाट १० जनालाई समानुपातिक उम्मेदवार बनाउने सहमति भएको थियो । त्यसमा भर्तेन्दु मल्लिक, सुमित्रा थरुनी र रामकुमारी चौधरी गरी तीनजनाको नाम मात्र दिइएको थियो तर तीन जनामध्ये कसैलाई पनि सांसद नबनाइएको उनको गुनासो छ । मल्लिकले भने, ‘धेरैमा अब हामी एक महिना कुर्छौ । अहिले पार्टीको केन्द्रीय समिति बैठक (बैशाख ७ गतेदेखि पुनः शुरु हुन्छ) चलिरहेको छ । यो बैठकले हाम्रो बारेमा केही निर्णय गर्यो भने ठिकै छ नभए विकल्प खोज्छौ ।’

यसो त सांसद बनेपनि पार्टीमा गच्छदार र देवले समेत कुनै जिम्मेवारी पाएको छैनन् । सभापति देउवाले गच्छदारलाई उपसभापति दिने आश्वासन दिएको बताइएको छ । तर, हाल उनलाई केन्द्रीय समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा बोलाइँदै आएको छ । काँग्रेसले १५ जनालाई मात्र केन्द्रीय समितिमा लिने जवाफ दिएको बताइएको छ । अरु बाँकी सदस्यलाई विभाग तथा प्रदेश समितिमा समावेश गर्ने बताइएको छ । शुक्रवारदेखि बस्न लागेको केन्द्रीय समितिको बैठकबाट पार्टीका नेता तथा कार्यकतालाई पार्टीले समायोजन गर्ने गर्ने आशमा नेता कार्यकर्ता रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस