गगन थापाले भने , कायरहरु बमले हामीलाई तर्साउन नखोज

सोमबार, १८ मंसिर २०७४, १९ : २५
गगन थापाले भने , कायरहरु बमले हामीलाई तर्साउन नखोज

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं ४ का कांग्रेस उमेदवार गगन थापाले कायरहरुले बम हानेर तर्साउन खोजेको भए पनि आफूहरु कुनै पनि हालतमा नडराउने बताएका छन् ।

सोमबार काठमाडौंमा बम आक्रमणमा परेका थापाले उपचारपछि सिफलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यसरी तर्साउन नखोज्न चेतावनी दिए ।

उनले आफूहरुले महाराजको शासन काल र माओवादी युद्धका बेला पनि यसैगरी तर्साउन खोजेको बताउँदै कुनै पनि हालतमा अब पनि नतर्सिने बताए ।

“साथिको घरबाट निस्केको पाँच मिनेट मात्रै भएको थियो । १० कदमजति अघि पुगेको थिएँ । एउटा संयोग भयो । म केही अघि पुगेको थिएँ । त्यही बेला बम पड्कियो । हामी घाइते भयौं । २ जना गम्भीर घाइते हुनुहुन्छ । १० सकेण्ड पछि रहनुभएका साथीहरु गम्भीर हुनुहुन्छ ।”
उनले पीडामा सम्हालिन गाह्रो परेको बताए ।

“पीडामा आफूलाई सम्हाल्न नसकिँदो रहेछ । सँगसँगै रुन थाल्यौं । स साना नानीहरु पनि थिए । उनीहरु पनि सँगसँगै भएको भए के हुन्थ्यो होला ? मेरा साथीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।”

उनले शान्ति सुरक्षाको विषयमा सरकारसँग प्रश्न गरे ।

“सरकारलाई प्रश्न सोध्न चाहन्छु ? काठमाडौंमा मध्ये दिनमा १२ बजे हिजो राति मात्रै आयोजना गरिएको कार्यक्रममा यसरी बम विस्फोट भयो,” थापाले भने, “सरकारले यसमा जवाफ दिनुपर्छ । जसले आज विस्फोट गराएको हो उनीहरुलाई प्रश्न सोध्छु । तपाईँहरुले गर्न के खोज्नुभएको हो ?”

सेना र माओवादीको आक्रमण भैरहँदा पनि झोला बोकेर जिल्लामा गएको स्मरण गर्दै थापाले भने, “त्यसबेला मेरो आमाले सोध्दा पनि म ढलेँ भने खाली मैदानमा ढल्दिनँ । कुनै न कुनै आमाको काखमा ढल्नेछु भनेर भन्थेँ ।”

काठमाडौंका सडकमा राजाको शासन कालमा ट्यांक कुदेका बेला दरबारअघि उभिएर भनेको स्मरण गर्दै थापाले भने, “महाराज हाम्रो छातीमा ट्यांक कुदाउनुस् भनेका हौं । त्यसैले हामी अहिले डराउनेवाला छैनौं । किन पड्काएको थाहा छैन । तिम्रो असहमतिका लागि लड्ने मानिस हौं हामी कायर हामी होइन तिमीहरु हौ । त्यसैले हामी होइन तिमीहरु डराएका छौं ।”

प्रतिक्रिया दिनुहोस