चितवन । कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको भवन बुधबार एक समारोहबीच गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्नु भएको छ ।
केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा केन्द्र स्थापनामा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै गृहमन्त्री बादलले कालिका नगर भर्खरैमात्र स्थापना भएको नगरपालिका भएकोले यसको भौतिक एवम् अन्य विकासको लागि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । यस क्षेत्रकै महत्वपूर्ण अस्पतालको रुपमा विकास हुँदै गएको केन्द्रलाई स्तरोन्नतिको लागि आफ्नो तर्फबाट पहल गरिने उहाँले बताउनु भयो ।
यस क्षेत्रमा स्वास्थ्यका अतिरिक्त खानेपानी, सडक लगायतका हरेक समस्याहरु रहेकोले यसको क्रमशः हल गरिने उहाँको भनाइ थियो । यस नगर क्षेत्रमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र छिटोभन्दा छिटो निर्माण गर्न आफू र सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री थापाले यस नगरपालिकाको क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना गर्न आफूले सकारात्मक ढंगले काम अगाडि बढाएको बताउनु भयो ।
गृहमन्त्री थापाले आज नै खैरहनी नगरपालिकामा संचालित क्रिकेट खेलको उद्घाटन गर्नुभयो । उहाँले शक्तिखोरस्थित चतुर्मुखी मा.वि. मा विद्यार्थी भर्ना अभियानमा सरिक भई विद्यार्थीको भर्ना समेत गराउनु भयो । उहाँले जुटपानी प्रहरी चौकीको भवन शिलान्यास र पदमपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई भेटघाट समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस