‘पुल भत्काएर अघि बढीसक्यौं, अब पछाडि फर्किन्न’ : प्रचण्ड

सोमबार, १८ मंसिर २०७४, १८ : ४३
‘पुल भत्काएर अघि बढीसक्यौं, अब पछाडि फर्किन्न’ :  प्रचण्ड

टाँडी  । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता हुने कुरामा कुनै शंका गर्नु नपर्ने बताउनु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन चितवनको निर्वाचन क्षेत्र नं। १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताबारे चलाइएका हल्लाहरु निराधार रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले दुइ वटा पार्टी जोड्ने निर्णय गरेर अघि बढेपछि पुल भत्काइसकेका छौं । त्यसैले अब पछाडि फर्किन सम्भव छैन । पछाडि फर्किने हो भने म, माओवादी, केपी जी र एमालेको भविष्य खतरामा छ । त्यसैले शंका नगर्नुस्, पार्टी एकता अवश्य नै हुन्छ ।

नेपालको विकास कछुवाको गतिमा अघि बढिरहेकोप्रति टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यो देशलाई समृद्ध बनाउन पार्टी एकताको ऐतिहासिक निर्णय गरेको बताउनु भयो । कछुवाको गतिमा रहेको विकासलाई तीब्र गतिमा नलैजाने हो भने विकसित नेपाल सम्भव नभएको बताउँदै अध्यक्षले भन्नुभयो, ‘अब मालगाडीको स्पीडले हुँदैन, नेपाललाई चीन या जापानको बुलेट रेलको गतिमा विकासतर्फ अघि बढाउनु पर्छ । यसका लागि स्थिर र जनताप्रति प्रतिबद्ध सरकार आवश्यक छ । त्यसैले हामीले यो वाम एकता गरेका हौं ।’

चितवनको क्षेत्र नं। १ बाट प्रतिनिधि सभा उम्मेदवार सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा अध्यक्ष सम्बोधन गर्न पुग्नु भएको हो । सभामा देखिएको व्यापक र उत्साहजनक उपस्थितिले प्रदेश र केन्द्र गरी चितवनमा नौ वटै वाम उम्मेदवारले जित्ने दाबी अध्यक्षले गर्नुभयो ।

चितवनको विकास वाम उम्मेदवारहरुले विजय हासिल गरे मात्रै हुने बताउँदै अध्यक्षले सबै जनतालाई आफ्ना कुरा राखिसकेकोले अब जनताको मतको कदर गर्न समेत सबैमा अपील गर्नु भयो । ‘जनतालाई सबै भनिसक्यौं, जनताले पनि बुझिसके, अब यो बीचमा हाम्रो अमूल्य मतको रक्षा गर्नु जरुरी छ । विकृत र विसंगत तत्वहरुले मनि र मसलको तागतले तलमाथि गर्ने दुस्साहस गर्न सक्छन्, त्यसविरुद्ध पहरेदारी र खबरदारी आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस