चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको गुणस्तर, कुशल व्यवस्थापन र भौतिक पूर्वाधारको विकास गर्न महानगर प्रतिवद्ध रहेको बताउनु भएको छ । चितवनको कविलास माध्यमिक विद्यालय जुगेडीमा आज बुधबार आयोजित विद्यालय भर्ना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
अल्पसंख्यक समुदायकी अनिसा चेपाङलाई भर्ना गर्ने क्रममा उहाँले भन्नुभयो, “कुनै पनि बालबालिकाहरु विद्यालय जान पाउने अवसरबाट वञ्चित हुनु हुदैन । सबै बाललिकाहरुलाई विद्यालय शिक्षा अनिवार्य गर्ने उद्देश्यका साथ सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको हो । यो अभियानलाई हामीहरु सबैले साथ दिनुपर्छ ।” उहाँले समुदायका सबै अगुवाहरुलाई विद्यालय पुग्न नसकेका बालबालिकाको पहिचान गरी विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने नारासाथ सुरु भएको भर्ना अभियानलाई सफल बनाउनु पर्ने उहाँको भनाइ थियो । महानगर प्रमुख दाहालले अनिसा चेपाङलाई भर्ना गराई अभिभावकत्व ग्रहण गर्नुभयो । उहाँले छ वर्षीया अनिसालाई झोला, पुस्तक, विद्यालय पोशाक, कापी, कलम सहयोग गर्नुभएको छ । उहाँले अनिसालाई विद्यालय भर्ना गरी अभिभावकत्व ग्रहण गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो ।
दाहालले सबै बालबालिकालाई विद्यालय शिक्षा अनिवार्य गर्ने उद्देश्यकासाथ सरकारले विद्यार्थी भर्ना अभियान चलाएको बताउँदै शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी सबै जना जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले कविलास माविको भौतिक पूर्वाधार विकासमा महानगरको तर्फबाट विशेष पहल गरिने आश्वासन दिनुभयो । आफूले अभिभावकत्व ग्रहण गरेको विद्यार्थी अनिसा चेपाङलाई राम्रोसँग अध्ययन गर्न सुझाव दिँदै महानगर प्रमुख दाहालले भविष्यमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, शिक्षा महाशाखा प्रमुख विरेन्द्रजंग थापा, वडा नम्बर २९ का अध्यक्ष मानबहादुर रानामगर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस