वैशाख नौ गते नहुने भयो पार्टी एकता : प्रचण्ड

बुधबार, ०५ बैशाख २०७५, १२ : ४७
वैशाख नौ गते नहुने भयो पार्टी एकता : प्रचण्ड

सूर्यप्रकाश कँडेल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख नौ गते नेकपा एमालेसँग हुने भनिएको पार्टी एकता तत्कालको लागि पर सरेको बताउनु भएको छ । माओवादी केन्द्रनिकट नेपाल प्रेस सेन्टर र एमालेनिकट प्रेस चौतारी नेपालले आज बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलसहित चितवन आउनु भएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बैशाख नौ गते नै पार्टी एकता नहुने भयो । यो महिनाभित्र दुई पार्टी एक भएको घोषणा हुनेछ ।’ एकता प्रकृया सकारात्मक ढंगले अगाडि बढिरहेको र केही विषयहरुमा छलफल आवश्यक भएकोले बैशाख नौ गते पार्टी एकता घोषणा गर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

‘दुई वटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोदेखि छलफल सुरु गरेका छौँ’ उहाँले भन्नुभयो, ‘कार्यदलले टुंगो लगाउन नसकेका केही विषयहरु हामी दुई नेता (ओली र प्रचण्ड) ले टुंगो लगाउनु पर्ने भएकोले एकता घोषणाको लागि केही समय लाग्ने भयो । धेरै ढिलो हुँदैन, एकताको कुरा नमिल्नेतिर गएको छैन । त्यसैले एकता हुन्छ, भएरै छाड्छ ।’
अध्यक्ष प्रचण्डले विधानमा जनयुद्ध र जनआन्दोलनहरुलाई कसरी प्रस्तुत गर्ने ? निर्वाचन चिह्न के हुने ? एकताको मोडालिटी कस्तो तय गर्ने ? भन्ने विषयहरु टुंगो लाग्न बाँकी रहेको बताउनु भयो । उहाँले चुनाव चिह्नको बारेमा कुरा मिल्यो भनेर मिडियामा आएका कुरा सत्य नभएको बताउनु भयो । पार्टी एकता गर्दा भागबण्डा र प्रतिशतका कुरा नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सकेसम्म बराबरी भन्नेमा कसैको विमति छैन । प्रतिशतका कुरा दुबै पार्टीबाट भएका छैनन् ।’

सिण्डिकेट सकियो : बादल
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा अब यातायातको सिण्डिकेट सकिएको बताउनु भयो । उहाँले अहिले यातायात क्षेत्रको सिण्डिकेट ताडिएको र अब बिस्तारै अन्य क्षेत्रको सिण्डिकेट समेत तोड्ने दिशामा सरकार अगाडि बढ्ने बताउनु भयो ।
‘हिजो हामीले यातायातको सिण्डिकेट अन्त्य गर्ने निर्णय गरेका छौँ । यस कार्यको सबैतिरबाट समर्थन प्राप्त भएको छ’ गृहमन्त्री बादलले भन्नुभयो, ‘अब अन्य क्षेत्रमा देखिएका सिण्डिकेट पनि क्रमशः अन्त्य गर्नेछौँ । गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर नाफा कमाउने परिपाटी बन्द गर्छौं ।’

प्रतिक्रिया दिनुहोस