चितवन । अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने भनी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर आठ गौरीगञ्जमा खोलिएको सत्यम् स्कुलले भर्ना शुल्क भने अधिकतम् लिने भएको छ । स्कुलले आज मंगलबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार यस विद्यालयमा भर्ना हुने विद्यार्थीले भर्ना शुल्क ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
विद्यालयको मासिक शुल्क, वार्षिक शुल्क र भर्ना शुल्कबारे पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिँदै विद्यालयका प्राचार्य डा. हिमलाल घिमिरेले भर्ना शुल्क ५० हजार रुपैयाँ तोकिएको बताउनु भयो । उहाँले विद्यार्थीको भर्ना शुल्क एकपटकमात्र लिइने बताउनु भयो । भर्ना शुल्क एकपटक तिरे हुने बताइएपनि विद्यालयले वार्षिक शुल्कका रुपमा अतिरिक्त ३० हजार रुपैयाँ बर्सेनि लिनेछ ।
आफूहरुले प्रयोगात्मक अभ्यास र इन्टरनेटमा आधारित विधिबाट अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने भएकोले शुल्क केही बढी लागेपनि काठमाडौँ र विदेशमा रहेका ठूला विद्यालयको तुलनामा त्यति धेरै नभएको प्राचार्य घिमिरेले बताउनु भयो । उहाँका अनुसार कक्षा एकमा पढ्ने विद्यार्थीको मासिक शुल्क २० हजार रुपैयाँ रहेको छ ।
‘बिहान साढे ६ बजेदेखि साँझ साढे ६ बजेसम्म विद्यार्थीहरु विद्यालयमा नै रहन्छन् । उनीहरुले ड्रेस लगाउनु पर्दैन । कापी, किताब बोक्नु पर्दैन’ प्राचार्य घिमिरेले भन्नुभयो, ‘बिहान खाजा, दिउँसो खाना र खाजा दिन्छौँ । वातानुकुलित बसमा विद्यार्थी विद्यालय आउँछन् । वातानुकुलित कक्षा कोठामा अध्ययन गर्छन् ।’ गणित, अंग्रेजी, नेपाली लगायतका सबै विषयका कक्षा कोठालाई प्रयोगशालाकै रुपमा विकास गरिएको उहाँले बताउनु भयो ।
विद्यालयका अध्यक्ष परशुराम पौडेलले चालु शैक्षिक सत्रबाट कक्षा एकदेखि नौसम्म पढाई सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले दुई सय ७० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिइएको जानकारी गराउँदै एउटा कक्षामा ३० जनाका दरले विद्यार्थीलाई पढाइने बताउनु भयो । उहाँका अनुसार विद्यालयमा एक अर्ब दस करोड रुपैयाँ लगानी भइसकेको छ । २२ जना शिक्षकले विद्यार्थीलाई सोमबारदेखि शुक्रबारसम्म बढीभन्दा बढी प्रयोगात्मक शिक्षा दिने उहाँले बताउनु भयो ।
विज्ञान र स्वास्थ्य विषयका शिक्षक पंकज रेग्मीले विद्यार्थीलाई ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक ज्ञान दिइने बताउनु भयो । उहाँले प्रयोगात्मक ज्ञानका लागि विद्यार्थीहरुलाई प्रयोगशालाको व्यवस्था गरिएको जानकारी दिनुभयो । बेलायतबाट पढाई सकेर आउनु भएका रेग्मीले नयाँ पद्धतिबाट शिक्षा दिइने भएकोले विद्यार्थीहरु गृहकार्यको झन्झटबाट मुक्त हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस