काठमाडौं । पार्टी एकता संयोजन समिति बनाएर दुई ठूला कम्युनिष्ट पार्टी एउटै बनाउने प्रकृयाले गति लिएपनि पार्टी एकता घोषणाबारे अन्यौल सिर्जना भएको छ । बैशाख ९ गते पार्टी स्थापना दिवसमा हुने भनिएको पार्टी एकता तत्कालको लागि पर सरेको छ ।
आज मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा तीन घन्टा बसेको बैठकले विवादित विषय किनारा लगाउन नसकेपछि कार्यदलले सुझाएको वैशाख ९ को एकताको तिथि लगभग टरेको संकेत दुवै पार्टीका नेताहरूले दिएका छन् । बैसाख ९ गते पार्टी एकता गर्ने भनि कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज मंगलबार बालुवाटारमा बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि एकता प्रक्रिया केही लम्बिएको हो।
बैठकले प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुई अध्यक्षलाई दिएको छ। संयोजन समितिको बैठकले दुर्इ अध्यक्षलार्इ जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकपछि माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘९ गते गर्ने भनिएको एकतालागि तयारी पुगेन । त्यसैले त्यसदिन एकता घोषणा हुनेछैन ।’ तर , ‘दुई पार्टीको एकता हुनेमा दुई मत छैन । अहिलेलाई तयारी नपुगेकाले ९ गते घोषणा हुँदैन।’
एमालेले एकताको तयारीका लागि यही वैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए। गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले कार्यदलमार्फत एकता प्रक्रिया थालेका थिए ।
दुई दलबीच केन्द्रीय समितिमा रहने अनुपात ५० र ५० हुनुपर्ने माग माओवादी केन्द्रबाट आएको हो भन्ने पत्रकारहरुको प्रश्नमा कार्यदलका सदस्य तथा एमाले महासचिव ईश्वर पोखरेलले त्यसरी छलफल नभएको जिकिर गर्दै भने, “पार्टी एकता हुने भइसकेपछि त्यस्तो विषय विवाद हुँदैन, व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकताका आधारमा जिम्मेवारी दिइन्छ, हामीले प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक एवं राष्ट्रियसभा निर्वाचनको तालमेलका लागि पृथक् ढाँचामा उम्मेदवारी तय गरेको अभ्यास गरिसको हुदा यो विषयमा विवाद नरहेको बताए ।
उनले पनि ९ वैशाखमा पार्टी एकता हुन नसक्ने बताउँदै शीर्ष नेताबीच समझदारी बन्नेबित्तिकै एकता संयोजन समिति बसेर एकताको मिति तय गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस