वाम एकता

मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा ओली र प्रचण्डलाई

मंगलबार, ०४ बैशाख २०७५, १४ : ४५
मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा ओली र प्रचण्डलाई

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने बताइएको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो सोमबार पार्टी एकताका बारेमा महत्वपूर्ण छलफल भएको थियो । प्रधानमन्त्री ओलीको भारत भ्रमणलगत्तै हुने भनिको दुई नेताको बैठक करिब एक सातापछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।
पार्टी एकताका लागि बनेका दुई वटा कार्यदलले आफ्ना प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाइसकेका छन् । ती कार्यदलले एकताको मोडालिटीसहित संगठनको ढाँचा समेत सिफारिस गरेका छन् । जनयुद्ध शब्दलाई प्रस्तावनामा राख्ने कि नराख्ने भन्ने निर्णय भइसकेको छैन भने निर्वाचन चिन्हका बारेमा कुनै विवाद छैन ।
पार्टीभित्र नेतृत्व र व्यक्तित्व व्यवस्थापनको विषयमा टुंगो लगाउन भने कार्यदलले दुई नेतालाई जिम्मेवारी दिएको छ । पछिल्लो जनमत एवं निर्वाचन परिणाम, नेतृत्व, व्यक्तित्व र निर्वाचनपूर्व दुवै दलबीच भएको सहमतिका आधारमा एकता प्रक्रिया टुंग्याउन दुवै नेता सहमत भएका छन् । एमाले र माओवादीजस्ता दुई ठूला शक्ति एक भएपछि आफ्नो राजनीतिक हैसियत समाप्त हुने भयले नेपाली कांग्रेस लगायत स्वदेश र विदेशका धेरै शक्तिहरु अत्तालिएका छन् ।
ओली र प्रचण्ड एक ठाउँमा उभिँदा नेपालको राष्ट्रिय व्यक्तित्व स्वतन्त्र रुपमा माथि उठेको छ । अन्तर्राष्ट्रिय शक्तिहरुले हस्तक्षेप गर्न पाएका छैनन् । एमाले माओवादी एकताबाट ती शक्तिहरुको भूमिका नेपालमा कमजोर हुनेछ । फुटाउ र राज गर भन्ने पुरानो सूत्रअनुसार नेपालका कम्युनिस्टहरुबीच विभाजन सिर्जना गरेर राष्ट्रियतालाई नै कमजोर बनाउन चाहने शक्तिहरु यतिखेर ससाना विवाद र प्राविधिक अलमललाई देखाएर पार्टीको एकता नै हुन सक्दैन, गरे पनि त्यो एमालेमा माओवादीको विलय हो भनेर एकता भड्काउने खेतीमा लागेका छन् ।
संसदका दुई ठूला शक्ति एमाले र माओवादी एक भएमा मुलुकले स्थायित्व प्राप्त गर्नेछ । अस्थिरतामा आफ्नो भूमिका र भविष्य खोज्नेहरुका निम्ति एकताको मार्गचित्र प्रीतिकर छैन । गएको आम निर्वाचनमा कम्युनिस्टलाई भोट दिएमा २० वर्षसम्म कम्युनिस्ट शासन झेल्नुपर्छ भन्दै चेतावनीको भाषा बोल्नेहरुलाई अहिले सरकार तानाशाही भएको भन्दै गीत गाउन भ्याईनभ्याई छ ।
दुई शीर्ष नेताबीचको भेटघाट लगत्तै दुवै दलमा पार्टी एकताकै बारेमा आन्तरिक छलफल समेत भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले हालसम्म भएको प्रगतिबारे ब्रिफिङ गर्दै आगामी मार्गचित्रबारे प्रस्ट पारेका छन् । पार्टीका अन्य नेताहरुले समेत पार्टी एकता तोकिएकै तिथिमा घोषणा गर्न र अहिले बाहिर व्यक्त भएका आशंका सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस