एमालेलाई ओलीले प्राइभेट कम्पनी बनाउन खोजेपछि विद्रोह : माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १८ : ०४
एमालेलाई ओलीले प्राइभेट कम्पनी बनाउन खोजेपछि विद्रोह : माधव नेपाल

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमालेलाई केपी ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको बताएका छन् । मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ओली प्रवृत्तिका विरुद्ध विद्रोहको झण्डा उचालेको बताए । 

उनले ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताए । उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको बताए । नेता नेपालले भने– ‘पार्टीलाई सुदृढ एकता, सशक्त बनाउने, योग्यता क्षमताको आधारमा जिम्मेवारी दिने कुरमा ओलीको ध्यान गएन । उहाँको ध्यान सानो गुट मदन भण्डारी फाउन्डेसनमा केन्द्रित भएको छ । पार्टीको बारेमा चिन्ता छैन गुटको चिन्ता छ । उहाँ आफ्नो पद जोगाउन लाग्नुभएको छ । उहाँहरूको प्रत्येक अभिव्यक्ति वाणी सुन्नुभएको छ भने उहाँमा आत्मालोचनाको बानी छैन । अरू माथि लान्छना लगाउने, सबै दोष अरूको हो भनेर औँला ठड्याउने सबैलाई होच्याउने आफूलाई सर्वाधिकार ठान्ने बानी रहेको छ । उहाँको अहङ्कारबाट यो पवित्र पार्टी गुज्रिरहेको छ ।’ 

उनले पार्टी सत्तामा गएपछि ओलीमा दम्भ आएको र  सबै मैले नै गरे भन्ने अहङ्कारको भावना आएको बताए ।  उनले भने, ‘उहाँमा नराम्रो ढङ्गले व्यक्तिवाद विकास भयो । त्यो प्रवृत्ति निरङ्कुश रूपमा विकास भयो । उहाँको आलोचना गर्नेहरू उहाँको विरोधी बन्न थाले । उहाँलाई साथ दिनेहरू टाढिदै गए । ओलीले पार्टीलाई आज जुन दुर्दशामा पुर्‍याउनुभएको छ, त्यसलाई उठाउन धेरै समय लाग्नेछ । राम्रो काम गर्ने , केही गरेर देखाउने ठाउँबाट पार्टी धेरै पछाडि पुगेको छ । दुई तिहाइबाट आज पाटी ८३ सिटमा झरेको छ । उहाँले त्यसबारे कहिले पनि आत्मालोचना गर्नुभएन । देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो । उहाँले एक समय देश भक्तिको झण्डा उठाउनुभएको थियो, विदेशीसँग मध्यरातमा भेटेर त्यसलाई पनि फाल्नुभयो । आज यो पार्टी गणतन्त्र विरोधी हो कि जस्तो भएको छ । राजावादीहरू फेरी राजतन्त्र स्थापित हुन्छ कि भनेर खुसी भएका छन् । उहाँका नजिककाहरु अहिले सङ्घीयताको विरोध गरिरहेका छन् ।’

नेता नेपालले जसले पार्टीभित्र जित्न सकेको छैन, संसदमा जित्न सकेको छैन उसले नैतिकताका आधारमा ठाउँ खाली गरिदिनुपर्ने बताए । ओलीले आफ्नो कुर्सी ताके कुर्सी नै भाँचिदिन्छु, आफू बसेको घर नै जलाइदिन्छु भनेको स्मरण गरे । 
नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् ।

नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए । नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’

नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे ।