चितवन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।
बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले बताए । बस्नेतले भने, “पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।” यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउछन् । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । लुम्बिनीमा ठूलो सङ्ख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेको भन्दै उनले ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडान महत्वपूर्ण हुने बताए । सडकको यात्रा गर्नु नपरेपछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताउछन् ।
पर्यटनविद् डा. विश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले त्यहाँसँगको हवाई उडान चितवनका लागि निकै महत्वपूर्ण हुने बताए । विभिन्न देशसँग उडानको सम्झौता भइसकेको भन्दै उनले यहाँका लागि निकट अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा हुने विश्वास व्यक्त गरे । विश्वमा एक अर्बभन्दा बढी बौद्ध धर्मावालम्बी भएको भन्दै उनले उनीहरुको पहिलो गन्तव्य लुम्बिनी रहेको जानकारी दिए ।
त्यसैले त्यहाँसँगको चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको भनाइ छ । चितवन जङ्गल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा जङ्गल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३२ साउन २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनलाई चिनाएको क्यान्सर अस्पताल
चितवन खाद्यान्नमा आत्मनिर्भर
मेडिकल सिटीको रुपमा विकास भएसँगै चितवनबाट काठमाडौँ जाने बिरामी घटे
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार
नारायणी नदीको बाढी, १७१ जनाकाे उद्दार
विप्लवको नेतृत्वमा रोपाइँ महोत्सव