कर्मचारी खटाएको स्थानमै जानुपर्छः मन्त्री पण्डित

आइतबार, ०२ बैशाख २०७५, १८ : ३६
कर्मचारी खटाएको स्थानमै जानुपर्छः मन्त्री पण्डित

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कारमा उहाँले नयाँ संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा व्यवस्थापन गर्न सक्ने बताउनुभयो ।

कर्मचारी कम भएको हुँदा अहिले सरकारले स्वेच्छिक अवकाशको निर्णय स्थगन गरेको बताउँदै उहाँले भन्नुभयो, “अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगन भएको छ । सरकारले खटाएको ठाउँमा उनीहरु जानैपर्छ, नभए अवकाश लिने निर्णय गर्नुपर्छ ।” प्रादेशिक लोक सेवा आयोग गठन भएपछि सम्बन्धित प्रदेशले कर्मचारीको व्यवस्थापन गर्ने मन्त्री पण्डितको भनाइ थियो ।

मन्त्री पण्डितले राजनीतिक संक्रमणकाल सकिएर अहिले प्रशासनिक संक्रमणकाल शुरु भएको जानकारी दिँदै संक्रमणकाल पार लगाउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले राजनीतिक स्थायित्वका लागि आर्थिक, सामाजिक, कूटनीतिकलगायत पक्ष सन्तुलित हुनुपर्ने बताउँदै सरकारले जोसिला र महत्वाकांक्षी योजना बनाएको हुँदा त्यसलाई पूरा गर्न सुझाव दिनुभयो ।

उहाँले सरकारले पूर्व अति विशिष्ठ व्यक्तिलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय स्वागतयोग्य भएको बताउँदै प्रमुख प्रतिपक्ष दलको हैसियतले काँग्रेसले सरकारलाई रचनात्मक सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । -रासस

प्रतिक्रिया दिनुहोस