सूर्यप्रकाश कँडेल
चितवन । आजभन्दा दस वर्षअघिसम्म नामै नसुनिएको एउटा जंगली हात्तीले चितवन राष्ट्रिय निकुञ्जको ध्रुवा पोष्टमा विध्वंश मच्चाएर निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकलाई सताउनुसम्म सतायो । ध्रुवा पोष्टमा यसरी दुःख दिने त्यो हात्तीको नामै राखियो ध्रुबे ।
यही ध्रुबे हात्तीले पाँच वर्षअघि चितवनको माडीमा मान्छे मार्नेसम्मको हर्कत गर्यो । कहिले बारा र पर्साको जंगलमा त कहिले चितवनको जंगलमा देखा परिरहेको ध्रुबेको विध्वंश बढ्दै गएपछि माडीवासीले ध्रुबेलाई कि नियन्त्रणमा लिनु पर्ने कि मार्नु पर्ने माग राखे । सरकारले जनताको विरोध खेप्न नसकेपछि डार्ट गरेर नियन्त्रणमा लिने प्रयास गर्यो । पाँच वर्षअघिको त्यो प्रयासमा ध्रुबे मारियो भन्ने हल्ला चल्यो । निकुञ्ज प्रशासनले हात्ती मारिएको भनेर पुष्टि गरेन, बरु सम्पर्कविहीन रहेको बताउँदै आयो ।
सम्पर्कविहीन भएको पाँच वर्षपछि ध्रुबे हात्ती अकस्मात यस वर्षको पहिलो दिन हिजो शनिबार चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा देखा पर्यो । सुखीभार सैनिक पोष्टमा रहेको हात्तीसारमा पारसगज र तीर्थमानकलीलाई राखिएको थियो । सैनिक पोष्टभित्र छिरेर ध्रुबे हात्तीले पारसगजलाई दाह्राले हानेर घाइते बनायो । त्यसपछि दाह्राले घोच्दै तीर्थमानकलीलाई आफूसँगै भगायो ।
ध्रुबे हात्तीले तीर्थमानकलीलाई भगाएको घटना प्रत्यक्ष देख्नु भएका माहुते रामकुमार चौधरीले आज बिहान सुखीभार पोष्ट अगाडि सफल खबरलाई भन्नुभयो, ‘हिजो राति पौने तीन बजेतिर जंगली हात्ती ध्रबेले हाम्रो हात्तीसारमा रहेको भाले हात्ती पारसगजलाई घाइते बनायो । सँगै रहेको पोथी हात्ती तीर्थमानकलीलाई भगाएर लग्यो । आज रातिसम्म हाम्रो हात्ती पोष्टमै फर्कन्छ होला ।’
चितवन राष्ट्रिय निकुञ्जको सुखीभार सैनिक पोष्टदेखि पाँच सय मिटर टाढा जंगलमा ध्रुबे हात्ती आज बिहान तीर्थमानकलीसँगै डेटिङमा थियो । जीप सफारीमा सुखीभार क्षेत्रमा पुगेका सञ्चारकर्मीको टोलीले फोटो खिचिरहँदा ध्रुबे हात्ती रुखको छेल पारेर उभिइरहेको थियो । ध्रुबेको आडैमा थियो निकुञ्जको पोथी हात्ती तीर्थमानकली । मायामा बाँधिएको जोडीले एकान्तमा रोमान्स गरेकी शैलीमा देखिन्थे ध्रुबे हात्ती र तीर्थमानकली ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले प्रजनन्को समयमा जंगली भाले हात्तीले निकुञ्जका घरपालुवा पोथी हात्तीलाई संसर्गका लागि आफूसँगै लैजाने गरेको जानकारी दिनुभयो । ‘मंसिरदेखि चैतसम्म हात्तीको प्रजनन् समय हो’ उहाँले भन्नुभयो, ‘यो समयमा जंगली भाले हात्ती मात्तिन्छ । यौन प्यास मेटाउन निकुञ्जभित्रका हात्तीसारमा रहेका पोथी हात्तीलाई आफूसँगै जंगलभित्र लैजान्छन् ।’
प्रतिक्रिया दिनुहोस