सूर्यप्रकाश कँडेल
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय निकुञ्ज संरक्षण ऐन संशोधन गरिने बताउनु भएको छ । माडी नगरपालिकाले आज शुक्रबार माडी बहुमुखी क्याम्पस बसन्तपुरमा आयोजना गरेको जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालकै गौरव हो, चितवनको पनि हो, माडीको पनि गौरव बन्नुपर्छ, माडीवासी र यहाँका जनप्रतिनिधिको गुनासो सुनिसकेपछि कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, अहिलेसम्ममको अवस्था हेर्दा निकुञ्ज माडीवासीको लागि वरदान होइन, अभिसाप बनेको छ । अब मेरो प्रयास २०२९ सालको निकुञ्ज ऐन संशोधनका लागि हुनेछ ।
२०२९ सालमा मान्छेको होइन, जनावरको संरक्षणका लागि ऐन ल्याइएकोले निकुञ्ज आसपासका जनताले समस्या भोग्नु परेको उहाँको भनाइ थियो । निकुञ्ज ऐन संशोधनको पहल तत्काल सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, सिंगो संविधान त बनायौं भने एउटा ऐन संशोधन गर्न नसक्ने भन्ने कुरा छैन । ऐन संशोधनबाट धेरै समस्याको समाधान एकैपटक हुनसक्छ ।
उहाँले वन मन्त्रालय, रक्षा मन्त्रालय र रक्षा मन्त्रालयसँग समन्वय गरेर ऐन संशोधनको पहल गरिने बताउनु भयो । माडीको विकास, समृद्धि र सुरक्षाप्रति आफू चिन्तित रहेको बताउँदै उहाँले भन्नुभयो, मैले पहल गर्दा पनि ऐन संशोधन नहुने स्थिति आयो भने म माडी आउँछुु । सिंगो माडी र चितवनलाई उठाएर भएपनि ऐन संशोधन गरिनेछ ।
माडीलाई आफूले प्राथमिकतामा राखेको बताउँदै चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्डले भन्नुभयो, माडी अब सरकारको प्राथमिकतामा हुन्छ । ठोरीबाट माडी, पश्चिम चितवनहुँदै केरुङसम्म बाटो बन्नेछ । यसले सिंगो चितवनको अर्थतन्त्रमा प्रभाव पार्नेछ । सुकुम्बासी समस्या समाधानका लागि तीन वटा विकल्प बनाएर काम सुरु गर्न लागिएको उहाँले बताउनु भयो ।
माडी नगरपालिका प्रमुख ठाकुर ढकालले निकुञ्ज प्रशासन, कर्मचारी र सुरक्षाकर्मीबाट जनतामाथि ज्यादति भइरहेको बताउनु भयो । उहाँले अहिले निकुञ्ज माडीवासीको लागि बाधक बनेकोले निकुञ्ज ऐनमा संशोधन जरुरी भएको बताउनु भयो । कानुनी हिसाबले सहज वातावरण नबनेमा माडीवासीले निकुञ्जविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउने उहाँले चेतावनी दिनुभयो ।
माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजीमहतोले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा चितवन तीन खबाट प्रदेश सभा सदस्यमा विजयी रामलाल महतो, नेकपा एमाले माडी नगर कमिटी अध्यक्ष नारदमणि पौडेल लगायतले मन्तव्य राखेका थिए । जनप्रतिनिधिहरु डिलबहादुर गायक, कोपिला शिवाकोटी, शिवहरि सुवेदी, चुडामणि महतो, कृष्णराज अधिकारी लगायतले माडीवासीका समस्याबारे बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस