कमल थापा र विप्लवबीच बूढानीलकण्ठमा भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १२ : ०२
कमल थापा र विप्लवबीच बूढानीलकण्ठमा भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शुक्रबार भेटवार्ता भएको छ । थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका छन् । 

भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको भेटमा सहभागी नेता बुद्धिमान तामाङले जानकारी दिए । 

बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् । उनले ट्वीटरमार्फत भनेका छन्, ‘ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो।’

उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको पनि बताएका छन् । विप्लव थापालाई भेट्न प्रवक्ता विश्व प्रकाश शर्मा र हेमन्त प्रकाश ओलीसहित बूढानीलकण्ठ पुगेका थिए भने राप्रपाको तर्फबाट बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुववहादुर प्रधान पनि सहभागी भएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस