राज्य व्यवस्था तथा सुशासन समितिले मन्त्रीलाई बोलायो

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १७ : ००
राज्य व्यवस्था तथा सुशासन समितिले मन्त्रीलाई बोलायो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैविक प्रकोप सम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ । समितिको मंगलवारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रवार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताइन् । 

समितिको बैठकमा सांसदहरुले बाढी पहिरो तथा डुबानबाट पीडित भएका जनताको उद्दार, राहत तथा पुनःस्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय स्थानमा सरकारको उपस्थिती नै नभएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिने माग गरेका थिए ।

छलफलमा विपद् तथा दैविक प्रकोप सम्बन्धिका कुराहरुमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिवेदनमा रहेका प्रमुख बुँदाहरु सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गरे । 

त्यस्तै छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिनसक्ने बताए । त्यस्तै सांसद प्रेम सुवालले समितिमा पेश भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गरे । 

त्यस्तै सदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताइन् । त्यस्तै डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्वीकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाइन् । 

त्यस्तै लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नरगेको बताए । संसद पुनस्र्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस