मन्त्रिमण्डल विस्तारमा देउवालाई सकस, कांग्रेसमा यी नेता छन् आकांक्षी

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १६ : ५७
मन्त्रिमण्डल विस्तारमा देउवालाई सकस, कांग्रेसमा यी नेता छन् आकांक्षी

काठमाडौँ । शेरबहादुर देउवालाई मन्त्रिमण्डल विस्तार गर्न सकस भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको एक साता पुग्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।  

नेपाली कांग्रेसभित्रै मन्त्रि बन्ने आकांक्षी धेरै छन् । तीन धार रहेको नेपाली कांग्रेसमा मन्त्रिको लाइन देखेर देउवा आफै चकित परिरहेका छन् । माधव नेपाल समूह तत्काल मन्त्रिमण्डलमा नजाने भएका कारण एक-दुई मन्त्रालय नेपाली कांग्रेसको भागमा बढी पर्न सक्ने देखिएको छ । माधव नेपाल समूह सरकारमा जाने हो भने कांग्रेसको भागमो मन्त्रालय अझ खोसिन्छ । 

जसपाको उपेन्द्र यादव पक्षले सात मन्त्रालय मागेको छ । माओवादी केन्द्रले पनि त्यतिकै हाराहारीमा मन्त्रालय मागिरहेको छ । आफ्नै कांग्रेसभित्र रहेका तीन वटा गुटले मन्त्री खानकै लागि लविङ गरिरहँदा देउवा आफैँलाई भार परिरहेको छ । देउवाले विश्वासको मत पाएसँगै कांग्रेसमा मन्त्रीका आकांक्षीहरूले ‘लबिङ’ तीव्र पारेका छन्। कांग्रेसको संस्थापनइतर समूहले उपप्रधानमन्त्रीसहित मन्त्रालयहरूमा सुनिश्चितता खोजेको छ। 

संस्थापनइतर समूहमा मन्त्रीका आकांक्षी धेरै छन्। उनीहरु मन्त्री बन्न ‘लबिङ’ गरिरहेका छन्। कांग्रेसको संस्थापन समूहमा पनि मन्त्रीका आकांक्षी धेरै भएका कारण प्रधानमन्त्री देउवालाई मन्त्री छान्न सकस छ।  स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कांग्रेसका लागि सात मन्त्रालय राखेर नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट समूह र जनता समाजवादी पार्टी ९जसपा० का दुवै समूहका लागि ६र६ मन्त्रालय छुट्याएका छन्। 

प्रधानमन्त्रीमा सघाएका दलहरूलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएकाले कांग्रेसले कम मन्त्रालय राखेको हो। यस्तो अवस्थामा मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई हम्मे परेको छ। कांग्रेस संस्थापन समूहले यसअघि नै दुई मन्त्री लिइसकेको छ। बाँकी चार मन्त्रालयमध्येबाट संस्थापन इतर समूहले उपप्रधानसहित मन्त्रालय मागेको छ। उता ‘तेस्रो धार’को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलालाई पनि मन्त्रालय दिनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन्। 

कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल, डा डिला संग्रौला, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह, डा नारायण खड्का आकांक्षी देखिएका छन्। जसमध्ये भुसाल र संग्रौलाको नाम मन्त्रीका लागि चर्चामा छ। तर स्रोतले नेतृ भुसाल मन्त्रिमण्डलमा सहभागी हुने सम्भावना धेरै रहेको दाबी गरेको छ। यद्यपि, अर्की नेतृ संग्रौलाले देउवा बालुवाटार नसर्दै बूढानीलकण्ठ पुगेर आफूलाई पनि अवसर दिनुपर्ने आग्रह गरेको स्रोतको भनाइ छ।

संस्थापनइतर समूहले महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये कुनै एकलाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सिफारिस गर्ने निर्णय गरिसकेको छ। महामन्त्री डा कोइराला निवास महाराजगञ्जमा सोमबार बसेको इतर समूहको बैठक तीनमध्ये एकजनाको नाम उपप्रधानमन्त्रीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

जसमध्ये सुजाताको नाम उपप्रधानमन्त्रीका लागि सिफारिस हुने सम्भावना धेरै रहेको महाराजगञ्ज बैठकमा सहभागी स्रोतले दाबी गरेको छ। इतर समूहबाट डा मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू पनि मन्त्री बन्ने ‘लबिङ’ मा छन्। यस्तै संस्थापन समूह छाडेर इतर समूहमा गएका रुपन्देहीका सांसद विजय यादव, सप्तरीका तेजुलाल चौधरी, उदयपुरकी प्रमिला राई पनि आकांक्षी छन्। यस्तै १३ औं महाधिवेशनदेखि कांग्रेसमा ‘तेस्रो धार’ सिटौला समूहबाट सांसदहरु गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी पनि आकांक्षी हुन्। जसमध्ये चौधरीको सम्भावना धेरै रहेको स्रोतको दाबी छ। 

। 

प्रतिक्रिया दिनुहोस