चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकतालाई संसारको कुनै पनि ताकतले रोक्न नसक्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रका सदस्य महाप्रसाद पौडेलको निधन भएको सातौं दिन भरतपुर महानगरपालिका वडा नम्बर १४ पकौडीमा आज बिहीबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘पार्टी स्थापना दिवस बैशाख ९ गते नै पार्टी एकता गर्ने गरी छलफल तीब्र गतिमा अगाडि बढिरहेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अब छिट्टै दुई पार्टी एउटै हुन्छ । यो एकतालाई संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन ।’ पार्टी एकता रोजगारी सिर्जना, तीब्र विकास र सुशासनको लागि हुने उहाँले स्पष्ट पार्नुभयो । ‘अब एकीकृत पार्टीको एकमात्र उद्देश्य तीब्र विकास र समृद्धि हो’ उहाँले भन्नुभयो, ‘नेपाल अब विकासको नयाँ युगमा प्रवेश गरेको छ । म यस क्षेत्रको निर्वाचित जनप्रतिनिधि समेत भएको नाताले चितवनको विकासमा कुनै कमी हुन दिने छैन ।’
नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समाज रूपान्तरण र सामाजिक न्यायका निम्ति देश, जनता र परिवर्तनका निम्ति विशेष योगदान दिनु भएको भन्दै दिवंगत महाप्रसाद पौडेलप्रति श्रद्धाञ्जजली ब्यक्त गर्नुभयो । ‘आन्दोलनका हरेक क्षणमा पौडेल परिवारले अतुलनीय भूमिका खेल्यो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो परिवार पञ्चायत विरोेधी आन्दोलनमा महत्वपूर्ण दस्तावेज सुरक्षित राख्ने थलो बनेको थियो । जनयुद्धमा पनि पौडेल परिवारको उल्लेखनीय भूमिका थियो ।’
श्रद्धाञ्जली कार्यक्रममा महाप्रसादकी दिदी सिता रेग्मी, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायणप्रसाद दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल जिल्ला इन्चार्ज इश्वरी भट्टराई लगायतले श्रद्धाञ्जली ब्यक्त गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सिता दाहालका माइला भाइ महाप्रसादको जन्म २०२१ साल चैत ४ गते भएको थियो । उहाँको मृत्यु २०७४ साल चैत २३ गते भएको थियो । दिवंगत पौडेलका श्रीमती र तीन छोरा छन् ।
प्रतिक्रिया दिनुहोस