युवा संघले ब्युँतायो युथफोर्स ,ओलीलाई बालकोट लैजाँदा ५ हजार सवारीले स्वागत गर्ने

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १३ : ३५
युवा संघले ब्युँतायो युथफोर्स ,ओलीलाई बालकोट लैजाँदा ५ हजार सवारीले स्वागत गर्ने

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।

युवा संघले मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्नुपर्ने बताए ।

पुनःस्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् । युथफोर्स ५०१ सदस्यीय रहने युवा संघका सचिव जय गुरुङले जानकारी दिए ।

नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस