आज होला त एमालेको एकता घोषणा ?

पत्रपत्रिकाबाट

शनिबार, २६ असार २०७८, ०८ : ०४
आज होला त एमालेको एकता घोषणा ?

काठमाडौं । नेकपा एमालेको एकता सहमति नजिक पुगेको छ। कार्यदलले लगातार पाँच दिनदेखि जारी राखेको छलफल, संवाद सहमति नजिक पुगेको बताउँदै शनिबार निष्कर्षमा पुर्‍याउने दुवै पक्षका नेताहरूले  जानकारी दिएका हुन्। शुक्रबार करिब ७ घण्टा लगातार एकतालाई निष्कर्षमा पुर्‍याउन छलफलमा कार्यदलका नेता लागिपरेका छन्।

उनीहरूले सहमतिको दस्तावेज तयार पारेका छन्। शनिबार पार्टी एकताको सहमतिको दस्तावेजलाई अन्तिम रूप दिइने भएको छ। बिहीबार नै एकताको घोषणा गर्ने तयारी गरेको कार्यदलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्तापछि केही कठिनता उत्पन्न भएको थियो। माग र सर्त पनि थपिएका थिए।

केन्द्रीय कमिटीमा आफनो पक्षको सन्तुलन हुने पर्ने माग थपेपछि केही समस्या आएको थियो। एमाले र माओवादी एकीकरण हुँदा ओलीले आफू पक्षका ३८ र माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई एकलौटी केन्द्रीय कमिटीमा थपेकोमा त्यसमा आफ्नो पक्षको पनि सन्तुलन हुनुपर्ने भन्दै थप माग माधव पक्षले अघि सारेको थियो। एकीकरणको समयमा थप्ने विषयमा माधव नेपालको पनि सहमति नै थियो। यी विषयमा दुवै पक्षलाई विन–विन हुने गरी सहमति भएको बताइएको छ। 

संस्थापन पक्षको विरुद्ध विपक्षी पक्ष दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालत गएर गरेको हस्ताक्षर फिर्ता विषयमा मौनता जनाउने र फैसलापछि पार्टी निर्णयअनुसार अघि बढ्ने विषयमा सहमति भएको छ। पार्टी एकता पछि देउवाको नाम गरिएको हस्ताक्षरको अर्थ नहुने एक कार्यदलका सदस्यले बताए। 

२०७५ जेठ २ मा फर्किनेमा दुवै पक्ष सहमत नै भइसकेका थिए। हुन त ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्किने भने पनि जेठ २ कै अवस्था कायम गर्ने विषयमा  यसअघि नै सहमति भएको थियो। अब एमालेको जनवर्गीय संगठनदेखि मातहत कमिटी जेठ २ कै अवस्थामा फर्किने छन्। व्यवस्थापनमा समस्या आएमा वा असहमति प्रकट भएमा भने कार्यदल बनाएर टुंग्याइनेछ। 

माधव पक्षका नेता एवं कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सहमति नजिक पुगेको बताउँदै शनिबार टुंगोमा पुग्न सक्ने बताए।  ‘सहमति नजिक छौं, शनिबार टुंगोमा पुग्न सकिनेछ’, उनले भने। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस