कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द

पत्रपत्रिकाबाट

बुधबार, २३ असार २०७८, ०६ : २४
कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् ।

यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् ।

सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ ।

गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् ।

हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले अब ओम, नम र शिवाय गरी तीनवटा सिनेमा हल मात्र सञ्चालन गर्ने पनि दाहालले बताएका छन् ।

यस्तै, क्यूएफएक्स सिनेमा कम्पनीले सो समूहका तीनवटा सिनेमा हल बन्द गरेको छ । काठमाडौंको हात्तीसारस्थित जयनेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको हो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस