शिक्षा मन्त्री विरुद्धको रिटको सुनुवाई न्यायाधीश सुवेदीको इजलासमा

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १३ : ४७
शिक्षा मन्त्री विरुद्धको रिटको सुनुवाई न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं । तनहुँकी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रिट हालेकी मुद्दाको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ। रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाण्डु, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर आइतबार रिट दिएकी थिइन् ।

उनको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको छ।

अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन्। मन्त्री श्रेष्ठविरूद्ध उजुरी दिँदा प्रहरीले लिन नमानेको भन्दै रूपाले उनीविरूद्धको उजुरी लिएर अनुसन्धान अघि बढाउने आदेश पनि माग  गरेकी छन्।  

रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको थियो। 

घरबेटी प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।मन्त्रीले नै पीडकको पक्ष लिएर प्रहरी कार्यालय पुगेको र झण्डावाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै तीव्र आलोचना भएको थियो। 

प्रतिक्रिया दिनुहोस