मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी : दिनेशकुमार थपलिया

रासस

सोमबार, २१ असार २०७८, १३ : ३१
मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी : दिनेशकुमार थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता  र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन् । निर्वाचन आयोगको आयोजना र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का संयोजनमा आयोजित एकदिने ‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ भर्चुअल उद्घाटन गर्दै उनले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएकामा जोड दिए । 

अध्यक्ष थपलियाले भने,“ निर्वाचन आयोग एक्लैले यो काम सम्भव छैन,यसमा सबैको सहकार्य जरुरी छ ।” निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा सञ्चारमाध्यमको व्यापक प्रयोग गर्न तथा नागरिक आफैँले निर्णय गरेर मतदानमा सहभागी हुने वातावरण बनाउन जरुरी रहेको बताउँदै उनले आधाभन्दा बढी जनसङ्ख्या रहेका महिला, जनजाति, सीमान्तकृत, साक्षरता तथा कम साक्षरता भएका ठाउँमा निर्वाचन शिक्षा जरुरी भएको बताए ।

आयोगको तथ्याङ्कानुसार देशभर करीब एक करोड ६५ लाख मतदाता छन् । त्यो अझै बढ्ने क्रममा छ । नेपालमा देशभर ६० प्रतिशत मत खस्ने गरेको छ । त्यसमध्ये पाँच प्रतिशतको हाराहारीमा बदर हुने गरेको छ । राष्ट्रियसभाको निर्वाचनमा भने १३ प्रतिशत बदर भएको देखिएको छ । सो अवसरमा आयोगका सदस्य डा जानकीकुमारी तुलाधरले  मतदातालाई सुुसूचित गराउनका लागि महिला पत्रकारको महत्वपूर्ण भूमिका रहेको र त्यसका लागि सम्पादकीय र व्यवस्थापकीय स्थानमा तिनको सहभागिता हुनुपर्ने जरुरी रहेको बताए ।

डब्लुडब्लुजेका अध्यक्ष निर्मला आचार्यले निर्वाचनमा मत बदर नै नहुने गरी नागरिकलाई साक्षरता जनाउने र निर्वाचनका समाचारमा पत्रकार महिलाको पनि उल्लेख्य सहभागिता गराउने उद्देश्यले अभिमुखीकरण तामिलको आयोजना गरेको जानकारी गराए । तालीममा निर्वाचन आयोगका तर्फबाट तीन कार्यपत्र र डब्लुडब्लुजेका तर्फबाट एक कार्यपत्र प्रस्तुत हुनेछ ।  प्रत्येक प्रदेशबाट तीन÷तीन गरी २१ पत्रकार महिला तथा आयोग र डब्ल्युडब्ल्युजेका गरी ४० जना तालीममा सहभागी छन् ।
 

प्रतिक्रिया दिनुहोस