लुम्बिनीको राजनीतिमा नयाँ तरंग, मुख्यमन्त्री पोखरेलको पद धर्मरायो

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १८ : ४६
लुम्बिनीको राजनीतिमा नयाँ तरंग, मुख्यमन्त्री पोखरेलको पद धर्मरायो

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सहभागी सुमन शर्माले शुक्रबार राजीनामा दिएपछि मुख्यमन्त्री शंकर पोखरेललाई चुनौती थपिएको छ । उनको राजीनामाले लुम्बिनीको राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

शर्माको राजीनामा आएपछि पोखरेलको मुख्यमन्त्री पद नै धरमराएको छ । प्रदेशसभामा बहुमत देखाउन मुख्यमन्त्रीलाई चुनौती दिइरहेका विपक्षीलाई शर्माको राजीनामाले थप बल पुगेको छ । कुल ८३ प्रदेशसभा सदस्यमध्ये ४१ सदस्य आफ्नो पक्षमा देखाएर मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शंकर पोखरेललाई समर्थन गरेका तीन सांसदले यसअघि नै साथ छाडिसकेका छन् । 

पोखरेललाई साथ दिएका दाङका अमर डाँगी र कपिलवस्तुका दृघनारायण पाण्डेले यसअघि नै सांसदबाट राजीनामा दिइसकेका छन् । दाङकै विमला वलीले माओवादी प्रवेश गरेको घोषणा गरिसकेकी छिन् । शर्माले पनि राजीनामा दिएपछि पोखरेल ३८ सांसदको समर्थनमा खुम्चिएका छन् ।
वैशाख १९ गते प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी शर्मा भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन् ।

सत्ता साझेदार माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि वैशाख १९ गते राजीनामा दिएका पोखरेलले जनता समाजवादी पार्टीका चार जना प्रदेशसभा सदस्यलाई साथमा लिइ दोस्रोपटक प्रदेश सरकारको नेतृत्व लिएका थिए ।

प्रदेशसभामा ६ जना सदस्य रहेको जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, कल्पना पाण्डे, विजय यादव र सुमन शर्मा रायमाझीलाई वैशाख १९ गते नै मन्त्री पद दिएर सरकारमा सहभागी गराएका थिए । तर राज्यमन्त्री रायमाझीले भने दुई महिना नबित्दै शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएकी हुन् । अहिले लुम्बिनीको विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १८, जसपाका २, जनमोर्चाका १ गरी ४० सांसद छन् । शुक्रबार राजीनामा दिएकी रायमाझीले गठबन्धनमै बसेपनि विपक्षीको बहुमत भने पुग्दैन ।