सूर्यप्रकाश कँडेल
चितवन । चीनको हुनान प्रान्तमा पर्ने छाङ्सा महानगरस्थित सेन्ट्रल साउथ विश्वविद्यालय अन्तर्गतको सियाङ्या नर्सिङ स्कुल र भरतपुर महानगरपालिकाबीच शैक्षिक सहकार्यका लागि एक समारोहबीच आज मंगलबार सम्झौता भएको छ ।
भरतपुर महानगरपालिकाको सभाकक्षमा आयोजित भरतपुर महानगरपालिका र सियाङ्या नर्सिङ स्कुल चीनबीच शैक्षिक सहकार्यका लागि सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यस्तो सम्झौता भएको हो । सम्झौतापत्रमा महानगर प्रमुख रेनु दाहाल र नर्सिङ स्कुलका डिन प्रोफेसर थाङ सियुआनले हस्ताक्षर गर्नु भएको छ । आगामी शैक्षिक सत्रदेखि २० जनालाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति दिने गरी नर्सिङ स्कुलले भरतपुर महानगरसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा हस्ताक्षर भएपछि समरोहलाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले चीनसँग भरतपुरलाई जोड्ने विगतदेखिको चाहना आज पूरा भएको बताउनु भयो । उहाँले चीनमा उत्कृष्ट दसमा पर्न सफल विश्वविद्यालय अन्तर्गतको नर्सिङ स्कुलसँग छात्रवृत्ति सम्बन्धी सम्झौताले महानगरवासी गरीब, असहाय तथा जेहेन्दार विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
नर्सिङ स्कुलका डिन सियुआनले सेन्ट्रल साउथ विश्वविद्यालय अन्तर्गत कूल १८ हजार बेड क्षमताका पाँच वटा अस्पताल संचालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नर्सिङ स्कुलमा स्नातक तहमा ३४ हजार, स्नातकोत्तर र विद्यावारिधीतर्फ २० हजार र विदेशी विद्यार्थी एक हजार जना अध्ययनरत छन् । एक सय सात वर्ष पुरानो विश्वविद्यालय अन्तर्गतको नर्सिङ स्कुल चीनमा अग्रपंक्तिमा रहेको प्रोफेसर सियुआनको भनाइ छ ।
सम्झौतापत्र हस्ताक्षर समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र नर्सिङ स्कुलका डिन प्रोफेसर थाङ सियुआनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्नु भएको थियो । विज्ञप्तिमा स्नातकोत्तर र विद्यावारिधीमा दुई सय १७ वटा र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन गरिरहेको विश्वविद्यालयले भरतपुर महानगरभित्रका गरीब, असहाय र जेहेन्दार विद्यार्थीमध्ये २० जनालाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको उल्लेख छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न समारोहमा उपप्रमुख पार्वती शाह ठकुरी, दस नम्बर वडाका अध्यक्ष अरुणपीडित भण्डारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, नर्सिङ स्कुलका विभागीय निर्देशक डा. विश्वास श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । छात्रवृत्तिका लागि प्राप्त निवेदनमध्ये मेरिटका आधारमा पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिने नर्सिङ स्कुलले जनाएको छ ।
भरतपुर महानगरका विदेश मामिला सल्लाहकार डा. जेपी पाठकले सफल खबरसँगको कुराकानीमा चीन र भारतलाई समदुरीमा राखेर नेपालले फाइदा लिन सक्नुपर्ने बताउनु भयो । उहाँले भरतपुर महानगरको सम्बन्ध दुबै छिमेकी देश भारत र चीनसँग राम्रो रहेको र यसलाई यही रुपमा अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस