देउवा र नेपालले भने– हामी एकअर्कालाई धोका दिदैनौँ

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १८ : ५१
देउवा र नेपालले भने– हामी एकअर्कालाई धोका दिदैनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने प्रतिबद्धता गरेका छन् । नेपालले देउवालाई साथ दिने बताइरहँदा अब नेपाल पक्ष ओलीतर्फ आउने सङ्केत क्षीण हुँदै गइरहेको छ ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदको हस्ताक्षर थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दिँदा पनि एमालेका २३ सांसदले साथ दिएका छन्। यो कुराको स्मरण गर्दै देउवाले भने, ‘माधव नेपाललाई धोका हुँदैन, माधवजी लडाकू मित्र हो, हामी साथ दिन्छौँ ।’

देउवाले यसो भनिरहँदा माधव नेपाल मुस्कुराइरहेका थिए । विपक्षी गठबन्धनले शनिबार गरेको कार्यक्रममा एमाले नेता नेपालले देउवालाई धोका नदिने बताए । ‘मलाई प्रधानमन्त्रीको अफर आए पनि म देउवालाई धोका दिएर प्रधानमन्त्री हुन जान्नँ’ नेपालले भने । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाई प्रधानमन्त्री भइहाल्नुस्’ भन्ने प्रस्ताव आफूलाई आउन थालेको भन्दै उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन ।’

प्रतिक्रिया दिनुहोस