मालिका गाउँपालिकाले लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउने

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १२ : ४९
मालिका गाउँपालिकाले लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउने

गुल्मी ।गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने भएको छ ।गाउँपालिकाको बिहीबार सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो ।

ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने भएको छ । यसका लागि गाउँपालकिाबाट अनुमति लिने पर्ने छ । देशका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन र बिक्री वितरणको अध्ययन गरेपछि यस्तो ऐन ल्याइएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

स्थानीयस्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूल खेर गहिरहेकाले त्यसबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने ऐन बनेको उनको भनाइ छ । गाउँमा अवैध ढंगले उत्पादन भएका महिरा भट्टीले स्वास्थ्यमा नकरात्मक असर पार्ने भएकाले गुणस्तर मापन गरी स्टीकर टास्ने र सिलबन्दी गर्ने गरी ऐन बनाइएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।

नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै ऐन जारी गरिको प्रमख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । ऐन पारित भैसकेकोले अब नियमावली बनाएर अघि बढिने भण्डारीले बताए ।

गाउँपालिकामा धेरै जनजाति बस्ती भएकाले उनीहरुको संस्कृतिसँग पनि घरेलुमदिरा जोडिएर आउने भएकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न ऐन ल्याइएको गाउँपालिकाको तर्क छ । घरेलु मदिरा उत्पादनलाई उद्योगको रुपमा विस्तार गर्दा करको दायरा पनि बढ्ने विश्वास गाउँपालिकाको छ ।

उद्योग सञ्चालनको अनुमति दिन सकिने व्यवस्था गरिए पनि गाउँपालिकाले बनाएको नीति नियमविपरीत भएको खण्डामा भने ५० हजारसम्म जरिमाना गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस