कुमरोजको पर्यटकका लागि डुंगा सफारी शुरु

शनिबार, २४ चैत्र २०७४, १५ : ४४
कुमरोजको पर्यटकका लागि डुंगा सफारी शुरु

चितवन । पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको पूर्वी चितवनको कुमरोजस्थित राप्ती नदीमा आजबाट डुंगा सफारी शुरु भएको छ । पर्यटकलाई राप्ती नदीमा डुंगा सयर गराएर पर्यटन प्रबद्र्धन गर्ने लक्ष्यसहित शुरु भएको डुंगा सफारीको प्रदेशसभा सदस्य कृष्ण खनालले उद्घाटन गर्दै यसले वन तथा वन्यजन्तुको संरक्षण गरी पर्यापर्यटनको विकासमा सहयोग गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले आन्तरिक र बाह्य पर्यटनको विकासका लागि कुमरोजको डुंगा सफारी प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जले काठ उपलब्ध गराएपछि करीब रु नौ लाखको लागतमा डुंगा निर्माण गरी आजबाट ६ वटा डुंगा सञ्चालन गरिएको कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो ।

प्रति डुंगामा ६ जना पर्यटक बस्नसक्ने छन् । सो वापत उनीहरुबाट रु २५० शुल्क लिइने जनाइएको छ । कुमरोजको डुंगाघाटबाट शुरु हुने डुंगा सफारी सौराहासम्म करीब पाँच किलोमिटर चल्छ । यहाँको डुंगा सफारीबाट दुर्लभ घडियाल र मगर गोही, गैंडा, हात्ती, चित्तल, भालु, पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक निकुञ्जसँग जोडेर संरक्षण र पर्यापर्यटनको काम चलिरहेको उल्लेख गर्नुभयो । कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङका अनुसार डुंगाघाटबाट एक घण्टामा सिम्रेनी घाट, दुई घण्टामा भिमपुर पोष्ट र तीन घण्टामा सौराहा पुग्ने गरी सफारी शुरु भएको हो । भदौबाटै डुङ्गा सफारी शुरु गर्ने भनेर गएको असारमा रु पाँच लाखको लागतमा तनहुँबाट किनेर ल्याएको तीन वटा डुंगा भने साउन २८ गते आएको बाढीले बगाएको थियो ।

त्यसपछि डुंगा सफारी सञ्चालनको काम रोकिएको थियो । अहिले चितवन निकुञ्जले काठ उपलब्ध गराएर त्यसको नौ महिनापछि डुंगा सफारी शुरु भएको हो । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको कुमरोजमा यसअघि पर्यटकले हात्ती र जिप सफारी गर्दै आएका छन् । डुंगा सफारीले यहाँको आकर्षण थपेको छ । कुमरोज वनको आम्दानी पर्यापर्यटनबाट सबैभन्दा धेरै हुने गरेको छ । सो क्षेत्रमा पर्यटन विकास भएसँगै विभिन्न क्षेत्रमा होमस्टे समेत सञ्चालित छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस