काठमाडौ । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन् । खेतको धानमा बाला झुलेका छन् । तर, दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेको छ । पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छिन् ।
गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर्याएको हो । 'वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो । त्यसमै पानीले गह्रा भरिभराउ छ,' उनले भनिन्, 'धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ ।'
हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्याएपछि खानलाई समस्या हुने उनको गुनासो छ । उनी वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आएकी थिइन् । 'आम्दानीको स्रोत कृषि नै हो । धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ,' लुहारले भनिन्, 'अब के खाने ? के बेच्ने ?'
भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ । त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ गर्ने गर्छिन् । गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने ? भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
'हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो । न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै,' उनले भनिन्, 'किनेर खान पनि पैसा छैन ।' बर्सेनि वर्षा र हुरीबतासले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो छ ।
अविरल वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ ।
स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन् । जिल्लाका विभिन्न ठाउँमा गरेर झण्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असोज २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
लमजुङमा बढ्यो धान उत्पादन
महोत्तरीमा धान उत्पादन बढ्यो
इलाममा धान उत्पादन घट्यो
बागमती प्रदेशमा धान उत्पादन घट्यो
शिवसताक्षीका ४ वटा वडा नुनिया धानको पकेट क्षेत्र घोषित