यस वर्षको विपत सामना गर्न पूर्वतयारी गरिरहेका छौं :  डा. पोखरेल

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, १२ : ५०
यस वर्षको विपत सामना गर्न पूर्वतयारी गरिरहेका छौं :  डा. पोखरेल

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपतको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । पत्रकारसंग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपतहरु बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल शुरु गरेर तयारी थालेको बताए ।

कोभिड संक्रमणको जोखिम शहरबाट गाउँ गाउँ पुगेको अवस्थामा विपतको उद्दारमा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट कसरि बचाउने ? भन्न चुनौति रहेको प्रमुख पोखरेलले बताए ।विपदमा उद्धार व्यबस्थापन गर्न पहिलो पक्ष स्थानीय सरकार भएकोले र अहिले स्थानीय सरकारहरुले विपदपूर्वको काम गरिरहेको पनि प्रमुख पोखरेलले बताए । सरकारले विपदको समयमा खट्ने वर्गको पहिचान गरि खोप लगाउन सके काममा सहज हुने बताए ।  

उनले भने ‘मुख्यगरी संघीय सरकारका सबै मन्त्रालयहरुले के–के तयारी गर्नुपर्ने हुन्छ, जस्तो उदाहरणका लागि सिँचाइ मन्त्रालयले यसको लागि तार जालीहरु हुनसक्ला, तारबार हुनसक्ला त्यस्ताखालका चिजको स्टक अझै राखिराख्ने । मुख्य बाढी आउने ठाउँहरु कहाँ कहाँ हुनसक्छन् त्यो जिल्लाहरुमा त्यहाँका कार्यालयहरुमा अहिले नै यसलाई परिचालन गरेर राखिराख्ने । गृहमन्त्रालयले लजिस्टिक क्लस्टरका लागि चाहिने सामग्रीहरु, उपकरणहरु । प्रदेशमा हाम्रो गोदाम घरहरु छन् । गोदामघरमा टेन्टदेखि लिएर सबै उपकरणहरु त्यहाँ लगेर स्टक गरिराख्ने । बन्दोबस्त गरिराख्ने । कुनै ठाउँमा रबरका ढुंगाहरु कम हुन सक्छन् । त्यसको परिचालन गर्ने काम हुन्छ ।

त्यो सँगसँगै हामीले यो वर्ष पहिरोको लागि प्रभावमा आधारित पूर्व सुचना प्रणाली सुरुवात गर्दैछौँ हामीले नौ वटा नेपालका पहिरोका उच्च जोखिम भएका जिल्लाहरुमा बाढीको पूर्वानुमान, त्यसैको अनुमानको सिकाइका आधारमा प्रभावलाई स्थानीय समुदायमा, जिल्लामा त्यहाँका मिडियाहरुमा रेडियो, एफएमबाट कसरी यसलाई प्रसारण गर्न सकिन्छ भनेर स्थानीय पालिका, जिल्ला, प्रदेश सरकारसँग मिलेर हामीले पहिरोको सुचना प्रणालीमा पनि हामीले काम गर्दैछौँ । यो सबै काम गर्न हामीले सुरक्षा निकाय मुख्यगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेतको संयुक्त कार्ययोजना बनाएर , सबैको आआफ्नो कार्ययोजना बनाएर त्यसलाई समष्टि गरेर त्यसको आधारमा हामीले कार्ययोजना बनाई लागु गर्ने हिसाबले हामी जान्छौँ ।’

विपतमा उद्दारमा खट्ने फ्रन्टलाइनर्सहरुलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उनले जानकारी दिए । उनले भने, ‘यसको लागि पोहोर सालदेखि नै हामीले सुरुवात गरेका थियौँ । रेस्पोन्डर्सहरुलाई कसरी सुरक्षित राख्ने,  पिपिई, डिसइन्फेक्शन गर्ने प्रणालीहरु, त्यो प्राटोकलहरु स्वास्थ्य मन्त्रालयले यसलाई लिड गर्नुहुन्छ । सुरक्षा निकायले प्रोटोकल अनुसार गर्ने र नेपाल रेडक्रसका स्वयम्सेवकलाइ पनि हामीले यो प्रोटोकल बारे जानकारी गराएका थियौँ । त्यही अनुभवलाई हामीले  यो वर्ष पालना गर्नुपर्ने हुन्छ । यसवर्ष हामीले स्वास्थ्य मन्त्रालयसँग फ्रन्टलाइनर स्थानीय पालिकामा हुने स्वयंसेवी, रेडक्रसका स्वयंसेवक, सुरक्षाकर्मी जसले विपतमा उद्दारकर्ताको काम गर्नुहुनछ उहाँहरुलाई खोपमा प्राथमिकता दिने कुरामा स्वास्थ्य मन्त्रालय र विभिन्न मन्त्रालयसँग समन्वय गरेर तयारी गर्दैछौँ ।’

यस वर्ष विपतका घटना बढ्नसक्ने सम्भावना रहेको भन्दै उनले जोखिम कम गर्ने सम्बन्धमा पूर्वतयारी थाल्नपनि सबैको ध्यानाकर्षण गराएका छन् ।
 

प्रतिक्रिया दिनुहोस