दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १८ : ४७
दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी

काठमाडौं । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् ।यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले जेठ २१ गते समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेका छन् ।साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यमलगायतबाट प्रवद्र्धन गरिनेछ ।

शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो । शहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय हो ।

‘विश्व वातावरण दिवस २०२१ को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक—सामाजिक जिम्मेवारी (सीएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक शहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन् । अभियानले स्वस्थ शहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ ।

मानिसहरूलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिनेछ, जसले साइकलयात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्ने जस्ता वातावरणमैत्री व्यवसायलाई समेत पक्षपोषण गर्दछ । यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । यससँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागि समेत मानिसहरूलाई साइकल जीवनशैली सुरु गर्न वा निरन्तर गर्न उत्प्रेरित गर्दछ ।

“यस समझदारी पत्रमार्फत, यूएनडीपी र एनसेलले काँधमा काँधदेखि पाउमा पाउ मिलाउँदै एउटै चालमा लय मिलाउनेछन् । सरल भाषामा भन्नुपर्दा, जीवनलाई स्वच्छ (फिट) र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ,” यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागांगोडा लेबले भने, “यूएनडीपी शहरी दिगो प्रतिफल हासिल गर्न र वायु प्रदूषण, सवारी चाप तथा सडक सुरक्षा एवं लाखौं शहरी बासिन्दाको गुणस्तरीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सवालमा सार्वजनिक—निजी साझेदारीको प्रभावकारितामा विश्वास गर्दछ ।” एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले यो अभियान दिगो समाजप्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको बताए । 

प्रतिक्रिया दिनुहोस