राष्ट्रिय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १२ : ४९
राष्ट्रिय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

पोखरा । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताएका छन । संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।

उनले तीन महिना भित्र हरेक जनतालाई खोप सेवा उपलब्ध गराउने सरकारी प्रतिबद्धताको स्वागत गर्दै धन्यबाद समेत व्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभावकारी बनाउन टोल-टोल तहसम्म  स्वयमसेवक परिचालन गर्ने उनले बताए ।

नेपालमा कोभिड १९ को संक्रमण संगै यसको नियन्त्रण, रोकथाम ,राहत तथा उद्धारमा देशव्यापी रुपमा आफ्नो संगठन र   नेता कार्यकर्ता  परिचालित रहेको उनले दाबी गरेका छन ।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल  कदमीमा संकलित उक्त सामग्रीहरु गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती  डा. डुक बाहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर ,पिपिई, मास्क्, ग्लोभ्स आदि गरी  रु १० लाख रकम बराबरको सामग्री हस्तान्तरण गरिएको आयोजकले बताएका छन ।

प्रतिक्रिया दिनुहोस