उपचारमा लाग्ने सम्पूर्ण शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १९ : ०४
उपचारमा लाग्ने सम्पूर्ण शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले एक साताभित्र उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सूचना जारी गरी ७ दिनभित्र अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम सार्वजनिक गर्न निर्देशन दिएको छ । सूचनामा उपचारमा उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ । 

उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ । कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

प्रतिक्रिया दिनुहोस