बनेपा ।पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगरप्रमुख महेश खरेलले बताए ।
नगरस्थित कोभिड व्यवस्थापन समिमिको बैठकले खोप खरीद स्वीकृति माग गरेको हो । नगरप्रमुख खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर जेठ महिनाभित्रै आवश्यक खोप पाँचखालमा ल्याइनेछ । खोप खरीदका लागि प्रतिडोज नेपाली रुपैयाँमा दर निर्धारणको मागसमेत पत्रमा गरिएको छ ।
नगरमा १८ वर्ष माथिका करिब २० हजार नागरिक रहेकाले पहिलो र दोस्रो डोजका लागि ४० हजार डोज खोप खरीद गर्नुपर्ने छ । उनले भने, “नागरिककलाई बचाउन विकास बजेट काटेर भएपनि जसरीनै खोप किन्नैपर्ने आवश्यकता भैसक्यो । मन्त्रालयसँग यसबारे फलोअप पनि भइरहेको छ ।”
पाँचखालमा कोभिडविरुद्धका ‘फ्रन्टलाइन’का स्वास्थ्यकर्मी तथा कर्मचारीले भने दुवै चरणका खोप लगाइसकेका छन् । पाँचखालमा कोरोनाको दोस्रो लहर शुरुपछि हाल १७७ पुरुषसहित ३२६ सक्रिय कोरोना सङक्रमित छन् भने चारले ज्यान गुमाइसकेका छन् । जसमध्ये नगरको आइसोलेसनमा ७, अस्पताल आइसोलेसनमा २ र होम आइसोलेसनमा १२३ सङ्क्रमित रहेका छन् । नगरप्रमुख खरेलले नगरका कोरोना सङ्क्रमित अति विपन्न नागरिकलाई उपचार खर्चवापत हालैमात्र रु दश हजार घोषणा गर्नुभएको छ भने आफ्नो नीजि गाडीसहित नगरका अन्य तीन गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सहमति दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १२ जेठ २०७८, १८ : १३
लेखकबाट थप