प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने पाँच दलको घोषणा (भिडियो सहित)

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १४ : २५
प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने पाँच दलको घोषणा (भिडियो सहित)

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने पाँच दलले घोषणा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा असंवैधानिक भन्दै पाँच दलीय गठबन्धनले यसको निकासको लागि राजनीतिक र कानुनी लडाइँ लड्ने जनाएका छन् । 

शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठकपछि जारी संयुक्त वक्तव्यमा  असंवैधानिक कदमको डटेर सामना गर्ने चेतावनी दिइएको छ । संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं ।’

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको दावीसहित १४९ सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले मान्यता नदिएको भन्दै बैठकले आपत्ति समेत जनाएको छ । 


प्रतिक्रिया दिनुहोस