बहुमत पुर्‍याएर राष्ट्रपतिकोमा जाने विपक्षी गठबन्धनको तयारी

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १५ : २०
बहुमत पुर्‍याएर राष्ट्रपतिकोमा जाने विपक्षी गठबन्धनको तयारी

काठमाडौँ  । बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् ।शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको हो । विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको एक नेताले बताए ।

बिहानदेखि विभिन्न तहमा भएका छलफलमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पक्ष र एमालेकै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुको हस्ताक्षरमा प्रधानमन्त्रीको दावा प्रस्तुत गर्ने तयारी भएको कांग्रेसका एक नेताले बताए । ‘अहिले बहुमत जुटाएर जाने सम्मको कुराकानी भएको छ, अन्तिम टुंगो लगाउन हामी अपरान्ह ३ बजे फेरि बस्दै छौं,’ ती नेताले भने । अहिले सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ।

अहिले संसदमा कांग्रेसको ६१, माओवादी केद्रको ४९, एमालेका खनाल–नेपाल समूहको २८ सांसद छन् । जसपाको यादव समूहको १५ सांसद भएको दावी छ । ३२ सांसद रहेको जसपामा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने आफूतिर बहुमत रहेको दावी गर्दै आएका छन् । प्रधानमन्त्रीले बैशाख २७ गते विश्वासको मत लिँदा जसपमा ठाकुर र यादव पक्षमा १५/१५ सांसद देखिएका थिए ।

एमालेको खनाल–नेपाल पक्षमा रहेका सांसदले हस्ताक्षर गरेमा देउवा नेतृत्वमा सरकार बनाउन बहुमत संख्या नै पुग्छ । संविधानके धारा ७६ (५) प्रतिनिधिसभाका कुनै पनि सदस्यले बहुमत पुर्‍याउन सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस