भारतसँग नयाँ सन्धि गर्दिनँ, यो सद्भावना भ्रमण मात्र हो : प्रधानमन्त्री

बुधबार, २१ चैत्र २०७४, १५ : २८
भारतसँग नयाँ सन्धि गर्दिनँ, यो सद्भावना भ्रमण मात्र हो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा कुनैपनि सन्धि वा सम्झौता नहुने बताएका छन्। बुधबार पूर्वप्रधानमन्त्रीहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्ने र भारत भ्रमण सद्भाव भ्रमणमात्रै हुने बताएका हुन्।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा भारत भ्रमण देशको हितमा हुने बताएका थिए। उनले भने, “यसपालीको भ्रमणमा कुनै सन्धि सम्झौता हुदैन। देशको अहितमा कुनै काम गरिदैन। विगतका सन्धि सम्झौता कार्यन्वयनमा जोड दिइने छ।” प्रधानमन्त्री ओलीले यसअघि पनि भारत भ्रमणमा कुनैपनि सम्झौता नगर्ने बताउँदै आएका थिए। उनले भ्रमणका क्रममा आफूले दुई देशको सम्बन्ध सुधार गर्ने बताएका थिए।

छलफलमा उनले भने, “यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।” छलफलमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको थियो।

पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री ओलीलाई नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राखेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। पूर्व प्रधानमन्त्रीहरूले पुरानो मानसिकता राखेर २१ औँ सताब्दीको सम्बन्ध विकास गर्न नसकिने बताएको सचिवालयले बतायो। पूर्वप्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थीर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए।

उनले नेपाल भारत सम्बन्ध “भाइ भाइको हैन मित्र-मित्र जस्तो हुनु पर्ने” बताएका थिए। पूर्वप्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताएका थिए। उनको सुझाव थियो, “भारतलाई हामीले संविधान कार्यन्वयनमा गइसक्यो खास समस्या छैन भनेर बुझाउनु पर्छ।”

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकाले यसलाई उकास्ने विषयमा छलफल केन्द्रित गर्नुपर्ने बताएका थिए। छलफलमा पराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको पनि प्रतिनिधित्व थियो।
 

प्रतिक्रिया दिनुहोस