देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापना हुँदै, उपप्रधानमन्त्री पोखरेल भन्छन् - ‘जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो ’

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १४ : ५१
देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापना हुँदै, उपप्रधानमन्त्री पोखरेल भन्छन् - ‘जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो ’

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताएका छन् । 

बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निःशुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले देशभरका ८ स्थानमा एक÷एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने कामको औपचारिक रुपमा प्रारम्भ भएको बताएका हुन्  ।

७ वटा प्रदेशमा एक÷एक ओटा र बाँकी एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको उनले जानकारी दिए । उनले भने, ‘होल्डिङ सेन्टरहरु, सेमि पर्मानेन्ट टाइपका ७ वटा प्रदेशमा ७ ठाउँ र काठमाडौं उपत्यकामा एउटा १÷१ हजार क्षमताको निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ । त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याईसकेको छ । नेपाली सेनाले ८ ठाउँमै निर्माण कार्य प्रारम्भ गर्दैछ ।’

उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको अभावलाई पुरा गर्नका निम्ति पहल गरिरहेको पनि बताए ।  उनले भने, ‘अक्सिजन प्लान्टहरुको अभावले गर्दाखेरी हाहाकार सिर्जना भएको छ । हामि त्यो अभावलाई पनि जति सकिन्छ चाँडो पुरा गर्न चाहान्छौँ । यसका लागि सरकारले अरु सबै कुरालाई छोडेर जनताको उपचार गर्ने कुरा, संक्रमणबाट जनतालाई बचाउने, जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो । त्यसको लागि सरकारले जि टू जि वा बि टू बि लेभलबाट होस् । त्यो सबै खरिद गर्ने कुरामा पनि औपचारिक रुपले मन्त्रीपरिषद्ले निर्णय गरिसकेको र आवश्यक पहल र प्रयत्न प्रारम्भ गरेका छौँ ।’

मन्त्री पोखरलेले कोभिडको संक्रमण मानवता र मानविय सभ्यता विरुद्धको आक्रमण भएकाले यसका विरुद्धमा सबै मिलेर लड्नुपर्ने बताए । उनले मारवाडी सेवा समितिले निःशुल्क आइसोलेसन सञ्चालन गरेर प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसा समेत गरे ।

मारवाडी सेवा समिति नेपालले ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । समितिले मित्रपार्कस्थित नेपाल भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको हो । आइसोलेसनमा बिरामीहरुको ल्याब परिक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरुको सेवा निःशुल्क उपलब्ध गराईने जनाइएको छ । कोभिड संक्रमितलाई आइसोलेसन सेन्टरकै सवारी साधनबाट ल्याउने, पु¥याउने सुविधा रहेको पनि मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले बताए । आवश्यक परे आइसोलेसन सेवालाई ३०० बेड सम्मको बनाउन सकिने पनि उनले बताए ।

सो आइसोलेसनको सेवा लिनका लागि ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । मारवाडी सेवा समितिले यस अघि पनि प्राकृतिक विपत्ति तथा महामारीमा विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस