मन्त्रिपरिषद विस्तार गर्ने गण्डकी प्रदेशको तयारी

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १० : ५०
मन्त्रिपरिषद विस्तार गर्ने गण्डकी प्रदेशको तयारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् ।गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् ।

‘आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी छ,’ मुख्यमन्त्री गुरुङको सचिवालय स्रोतले भन्यो । मुख्यमन्त्री गुरूङले आज अर्थमन्त्री गुरूङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दोहोर्याउन लागेको स्रोतले बतायो ।

२७ गते संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने छ ।

कोरोना पोजेटिभ रहेरै दोस्रो कार्यकालको सपथ लिएका मुख्यमन्त्री गुरूङले २९ गते नै क्याबिनेट गठन गर्न चाहे पनि स्वास्थ्यका कारणले पछिलाई धकेलेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।

१२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि ८ मन्त्रालय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस