देशका ७४ जिल्लामा निषेधाज्ञा , अब ३ जिल्ला मात्र खुला

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १७ : ०४
देशका ७४ जिल्लामा निषेधाज्ञा , अब ३ जिल्ला मात्र खुला

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ ।अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् ।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हाल मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

हिमाली जिल्ला मनाङमा निषेधाज्ञा लगाउनुपर्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन् । ‘यहाँ मान्छे थोरै छ, संक्रमण फैलिने जोखिम छैन, त्यसैले अहिलेसम्म निषेधाज्ञा लगाएका छैनौं’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस