कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने– अब नयाँ सरकार गठनको सम्भावना लगभग टर्यो, झिनो आशामात्र बाँकी

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १७ : ५६
कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने– अब नयाँ सरकार गठनको सम्भावना लगभग टर्यो, झिनो आशामात्र बाँकी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको सम्भावना लगभग टरेको जनाएको छ । कांग्रेस र माओवादीका नेताहरुले जनता समाजवादी पार्टीको एक समूहले साथ नदिँदा र एमालेको माधव नेपाल समूहले राजीनामा नदिँदा नयाँ सरकार गठनको सम्भावना टर्दै गएको बताएका छन् । उनीहरुले नयाँ सरकार गठनको अब झिनो आशामात्र रहेको बताए । 

‘माधव नेपाल समूहले राजीनामा नदिँदा बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको छ’ माओवादी केन्द्रका एक नेताले भने, ‘जसपाको एक समूह पनि नयाँ सरकार गठन प्रक्रियामा आउन मानेको छैन ।’ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटले पनि नयाँ सरकार गठनको सम्भावना कम हुँदै गएको निष्कर्ष निकालेको थियो ।

नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानका कारण नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न नसकेको कांग्रेसका एक नेता बताउँछन् । ती नेताका अनुसार माधव नेपाल समूहले राजीनामा दिएर आए नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने झिनो आशा रहेको छ ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ । ओली र नेपालबीच वार्ता भइरहेको छ । जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्न नसकेको कांग्रेस र माओवादीका नेताहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस