सर्लाही ।सर्लाहीमा थप १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।
कोरोना संक्रमणको दर निरन्तर बढ्दै गइरहेकाले निषेधाज्ञाको समयअवधि थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरु बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने छ ।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन हुने उनले बताए ।
सर्लाहीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ भने यस जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १७ : ४६
लेखकबाट थप