कैलालीमा  जेठ ६ गतेसम्म निषेधाज्ञा

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १७ : २९
कैलालीमा  जेठ ६ गतेसम्म निषेधाज्ञा

कैलाली । कैलालीमा आगामी जेठ ६ गतेसम्म निषेधाज्ञा बढाइएको छ ।सोमबार जिल्ला कोभिड–९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै मंगलबार प्रमुख जिल्ला अधिकारीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा पहिलो चरणमा वैशाख १६ देखि २२, दोस्रो चरणमा २३ देखि वैशाख मसान्तसम्म निषेधाज्ञा लगाइएको थियो । संक्रमण बढ्दो क्रममा रहेको भन्दै स्थानीय प्रशासनले जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार निषेधाज्ञामा थप कडाइसमेत गरिएको छ । तरकारी, फलफुल तथा खाद्य वस्तुका पसल व्यवसायहरु हप्ताको ३ दिनमात्र खोल्न पाउने गरी निषेधाज्ञालाई कडाइ गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्दै मंगलबार, बिहीबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र तरकारी तथा फलफूल पसल सञ्चालन गर्न पाइने छ ।

त्यस्तै राजश्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिएको छ । बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक भुक्तानीका लागि एटिएम तथा विद्युतीय प्रणाली प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द गर्ने र सरकारी कार्यालयबाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत संख्यामा कर्मचारी तथा सवारी साधन प्रयोग गरी कार्यालयको आन्तरिक व्यवस्थापन गर्न पनि जिल्ला प्रशासन कार्यालयले निर्देश गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस