माधव नेपाल पक्षका सांसदको राजीनामा आएमात्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव : कांग्रेस

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १५ : ४०
माधव नेपाल पक्षका सांसदको राजीनामा आएमात्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले माधव नेपाल पक्षको राजीनामासँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र अविश्वास प्रस्ताव ल्याउँदैमा आली अल्पमतमा पर्दैनन् । कांग्रेस माओवादीसहित जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल पक्षका सांसदहरु एकताबद्ध भएमात्र ओली अल्पमतमा पर्छन् ।

नेपाली कांग्रेसका एक नेताका अनुसार ओलीविरुद्ध बनेका विपक्षी दलहरु माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षामा बसेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सहमति भइसकेको छ । तर माधव पक्षका सांसदहरुको राजीनामा आएमात्र कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने भएको छ । हालसम्म माधव पक्षका सांसदहरुले राजीनामा दिएका छैनन् । 

जनता समाजवादी पार्टी जसपा नेपालको उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले यसअघि नै औपचारिक रुपमा अविश्वासको प्रस्ताव आए समर्थन गर्ने निर्णय गरिसकेको छ । एमाले संसदीय दल विभाजित नभएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन नसक्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ छ । माधव पक्षका सांसदहरुको राजीनामा आउने सहमति बनेको कांग्रेस नेताहरुको दावी गरिरहेका छन् । तर माधव पक्षका सांसदहरु झटै राजीनामा नदिने र पार्टीलाई एकताबद्ध बनाउन जुटिरहेका छन् । 

माधव पक्षका सांसदहरुले शनिबार नै राजीनामा दिने सहमति कार्यान्वयन हुनासाथ अविश्वास प्रस्ताव ल्याउने कांग्रेसको तयारी छ । माधव पक्षले राजीनामा दिएन भने कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने एक नेताले बताए । ‘माधव पक्षले राजीनामा दिएर नआउँदासम्म हामीले अविश्वासको प्रस्ताव ल्याउँदैनौँ, हार्ने प्रस्तावको अर्थ हुँदैन’ कांग्रेसका एक नेताले भने । 

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस